प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कार्कीगाउँबाट कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जीप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो ।
‘दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र दाङ्ग निवासी कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो,’ डाँगीले भने, ‘अस्पतालका चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन् । चौधरीको उपचार जारी छ ।’ चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको उनले बताए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजार स्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन् ।


