राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोटमा पहिरोमा परि एक दम्पतीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ धुमाका ३८ बर्षीय महिला वडा सदस्य प्रेम कुमारी चलाउने र ४७ बर्षीय उनका श्रीमान मानबहादुर चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार राती घरमा मस्त निन्द्रामा सुतिरहेको वेला एक्कासी खसेको पहिरोले घर सँगै उनीहरुलाई पुरेको हो । श्रीमानको दिर्घायुको कामना गदै तीज मान्नका लागि दुई दिन अघि माइतीमा गएकी प्रेमकुमारी शनिवार बेलुका फर्किएकी थिईन । अघिल्लो दिन आफन्तकोमा गएका श्रीमान मानबहादुर पनि सोही दिन फर्किएका थिए । दुवै जना मिलेर खाना पकाएर खाए । सुख दुःखका कुराकानी गरे । पानी परिरहेको थियो । ११ बर्षिय छोरी सहित सुते । तर कहिल्यै नफर्किने गरि चिरनिन्दा बाटै विलिन भए । पहिरोले विउझिनै नदिने गरि निल्यो ।
। पहिरोले भत्किएको घरले पुरिएका चलाउने दम्पतीको शव निकाल्न ६ घण्टा भन्दा बढि समय लागेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । प्रहरी उज्यालो भैसकेपछि आइतवार विहान ६ बजेतिर मात्र घटना स्थल पुगेको थियो । चलाउने माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् ।
चलाउने दम्पतिसंगै घरमै सुतेकी ११ बर्षीय छोरी सम्झना चलाउनेलाई नेपालले उद्धार गरेको थियो । टाउको, हात र मुखमा गहिरो चोट लागेकी सम्झनालाइ उपचारको लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
जोखिमपुर्णमा घरमा बसेका थिए
कामको सिलसिलामा जेठो छोरा जुम्ला, अध्ययनका लागि जेठी छोरी मीना र कान्छो छोरा हेमन्त मामाघर रहेकाले उनीहरु घटनामा पर्नबाट जोगिएको स्थानिय विष्णु कार्कीले बताए । भुकम्पले हल्लाएको घर चर्चिएर जोखिमपुर्ण अवस्थाको थियो । त्यो घरमा नबस्नोस भनेर हामीले सम्झाएका थियौ । बर्खा गैसक्यो अव केही हुँदैन भनेर बसे । अन्ततः त्यही घर काल भयो उनले भने ‘प्रहरीले समेत उक्त घरलाई अति जोखिमको सुचीमा राखेको थियो र त्यहाँ नबस्न आग्रह समेत गरेको थियो ।’ आर्थिक अवस्था निकै कमजोर थियो । नयाँ घर बनाउन सक्ने अबस्था थिएन । अस्थायी टहरामा पशुवस्तु राखेर भुकम्पले चर्काएकै घरमा बसिरहेका थिए उनले भने धेरै जसो गाँउमा मानिसहरु यसरी नै जोखिम मोलेर बसिरहेका छन् । जतिवेला पनि घटना घटना सक्ने संभावना छ ।
घटना घटेको खबर प्राप्त गरेपछि नायकबाडा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक अमर बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोली ४ घण्टा पैदल यात्रा गरेर घटना स्थलमा पुगेको थियो ।
डाक्टर नहुँदा हुन सकेन पोष्टमार्टम
पहिरोमा परि मृत्यु भएका चलाउने दम्पतीको पोष्र्टमार्टम नहुँदा अन्तिम दाह संस्कार हुन सकेको छैन । पहिरोले घर भत्काउँदा पुरिएका उनीहरुको आइतवार दिउसो मृत अवस्थामा शव निकालिएको थिए । पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा शव राखिएको छ तर अस्पतालमा डाक्टर नहुँदा पोष्टमार्टम हुन नसकेको गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । डाक्टर साव आउँदै हुनुहुन्छ सोमवार सम्म पोष्टमार्टम हुन्छ उनले भने ।
खोलाले बगाउँदा ६ बर्षिय बालक बेपत्ता
शनिवार बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका–३ कैनामा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय महान थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् । उनको परिवारजन, स्थानिय प्रहरीले खोजी गरिरहेका छन् ।


