राजेन्द्र कार्की । जाजरकोट
त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा ९ कक्षामा अध्ययनरत छात्रा सीता सुनार झोला सहितको विद्यालय सामग्री पाएपछि खुसीले दंग छिन् । उनी मात्र होइन, उनकी साथी एलिना शाही पनि विद्यालय सामग्री पाएर निकै खुसी छन् । निशुल्क रुपमा विद्यालय सामग्री पाएपछि उनीहरु जस्तै सयौं विद्यार्थीमा खुसीयाली छाएको हो ।
नेपाल रेडक्रस सोसाइटीले कर्णाली भूकम्प पुर्नलाभ कार्यक्रम मार्फत प्रभावित जिल्लाका विद्यालयहरुमा विद्यालय सामाग्री वितरण गरेको छ । हङकङ रेडक्रसको सहयोगमा जाजरकोट जिल्लाका भूकम्प प्रभावित विद्यालयका विद्यार्थीहरुका लागि सामाग्री वितरण गरिएको हो । हङ्कङ्ग रेडक्रसका प्रतिनिधी एन्जेलाको उपस्थितीमा मंगलवार भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले त्रिभुवन माविका विद्यार्थीलाई विद्यालय सामग्री वितरण गरेका हुन् । नगरप्रमुख घर्तीले भुकम्पमा रेडक्रसले गरेको योगदान निकै सह्रानिय रहेको बताउँदै विद्यार्थीलाई विद्यालय सामग्री प्रदान गर्ने हङ्कङ्ग रेडक्रसलाई धन्यवाद दिए ।
विद्यालय सामग्री वितरण कार्यक्रममा भेरी नगरपालिकाको नगरउपप्रमुख सीता जैसी, आईएफआरसीका प्रज्वल आचार्य, कर्णाली भुकम्प पुर्नलाभ कार्यक्रमका संयोजक पल्लवी सिंह, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिका उपमहासचिव खम्बजंग शाह, नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेत, मन्त्री धिरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । सामग्री पाएपछि विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।
जाजरकोट जिल्लाका ७ विद्यालयका १ हजार ६ सय ४८ विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको छ । विद्यालय सामाग्रीमा स्कुल झोला, पानी बोतल, कापी, कलम, ज्यामिति बक्स, रेनकोट, टिफिनबक्स, खेल सामग्री, लगायतका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले बताए । सामग्री पाएपछि विद्यार्थीको पठनपाठनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।