June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

जाजरकोटको रजुुतारा खाद्य विक्री केन्द्रमा खाद्यान्न सकिएपछि ५ हजार क्वीन्टल चामल थप गर्न माग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको दुर्गम जुनीचाँदे गाँउपालिकामा खाद्य संकट परेको छ । यातायातको पहुँच नपुगेको र न्युन खाद्य उत्पादन हुने जुनीचाँदेका विभिन्न बस्तीहरुमा खाद्य संकट परेको हो । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, सागियाँ लगायतका गाँउमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ ।

ति गाँउमा हुने खाद्य संकटलाई मध्य नजर गरेर सरकारले स्थापना गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको खाद्य विक्रि केन्द्रमा पनि खाद्यान्न नहुँदा थप समस्या परेको जुनीचाँदे गाँउपालिका वडा नम्बर ७ का वडाध्यक्ष नैनसिंह घर्तीले बताए । ति गाँउहरु अहिले पनि यातायातको पहुँचमा पुगेका छैनन् । जुनीचाँदेको प्रशासनिक केन्द्र पराले सम्म मुस्किलले साना गाडी पुग्ने गरेका छन् । गाँउपालिकाको माथिल्लो भेग जुम्ला सँग सिमाना जोडिएका बस्तीमा जाने सडक बन्न सकेको छैन । सडकको पहुँच नहुँदा खाद्यान्न लैजान समस्या छ । ढुवानी समस्याले गर्दा खाद्यान्नको समस्या भएको वडाध्यक्ष घर्तीले बताए ।

खाद्य कम्पनीको विक्रि केन्द्रमा चामल नपाउँदा स्थानिय रित्तै फर्कन बाध्य छन् । घरमा खाने अन्न नाई । ‘विक्रि केन्द्रमा पनि चामल पाया नाई क्या खाएर बाँच्न्या हो‘ स्थानिय पार्वती रोकाले भनिन–‘ खाद्य नपाउँदा हामी त निकै समस्यामा परिम । छाक टार्न निकै मुस्किल भो ।’

खाद्य कम्पनीको विक्रि केन्द्रमा खाद्यान्न लिन जानेहरु चामल नुहँदा हिजोआज रित्तै फर्कने गरेका छन् । विक्रि केन्द्रमा मौज्दात चामल गत साता नै सकिएको जिल्ला खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले बताए । चालु आर्थिक बर्षमा सुर्खेतबाट पाँच सय क्वीन्टल र जिल्ला सदरमुकामबाट सात सय क्वीन्टल चामल पठाईएको थियो । उक्त सवै चामल विक्रि भैसकेको पौडेलले बताए । चामलको माग धेरै छ । आर्थिक बर्ष समाप्त नहुँदै निर्धारित कोटाको चामल सकिएको हो । सरकारले दुर्गम क्षेत्रका लागि ढुवानी अुनदान दिदै आएको छ । विक्रि केन्द्रमा खाद्यान्न सकिएको र थप माग गरेपछि स्थलगत अवस्था बुझ्न केही दिन अघि दुर्गम गाँउ रजुतारा पुग्दा त्यहाँको अवस्था निकै समस्याग्रस्त रहेछ कार्यालय प्रमुख पौडेलले भने –‘त्यहाँ उत्पादित अन्नले बर्षदिनमा तीन महिना पनि नपुग्ने रहेछ । यातायातको पहुँच र बजार नहुँदा किनेर खाने अन्न पनि नपाइदो रहेछ । खाद्य संकटले गर्दा स्थानिय निकै समस्यामा छन् ।’ बर्षेनी खाद्य संकट भैरहने ति बस्तीका लागि स्थायी रुपमै खाद्य डिपो स्थापनाका लागि माग गरिएको स्थानिय हिमाल घर्तीले बताए । दुर्गम र विकट बस्ती भएका कारण अन्न उत्पादन खासै हुँदैन । यातायातको सुविधा नहुँदा खाद्यान्न ढुवानीमा समस्या छ । त्यही भएर खाद्यको चामलमा भर पर्नु पर्ने बाध्यता छ तर कोटा निकै कम हुँदा बर्षेनी समस्या पर्ने गरेको उनको भनाई छ ।

अनुदानको चामल दुर्गमवासीले नेपालगञ्ज र सुर्खेतको दररेटमा पाउने गरेका छन् । खाद्यले वितरण गर्ने चामल बजारको भन्दा सस्तो हुने भएकोले पनि स्थानियको रोजाई बन्ने गरेको छ । जुनीचाँदे लगायतका विकट गाँउमा खाद्य संकट परेको र रजुतारा लगायतका विक्रि केन्द्रमा खाद्यान्न सकिएपछि मंगलवार बसेको जिल्ला खाद्य ब्यवस्था समितिले थप अनुदानको चामल पठाउन सरकार सँग माग गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यको अध्यक्षतामा बसेको बैठकले रजुतारामा थप ५ हजार क्वीन्टल चामलको ब्यवस्था गर्न सरकार सँग माग गर्ने निर्णय गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख पौडेलले बताए ।
बैठकले कुशेको टापुचौर विक्री केन्द्रका लागि थप ५ सय क्वीन्टल र नलगाडको चौखा खाद्य डिपोका लागि ९ सय क्वीन्टल चामलको कोटा थप गर्न माग गरेको छ । ति स्थानमा पनि चालु बर्षको निर्धारित कोटा सकिएपछि थप माग गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकले शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाको कैनामा थप विक्रि केन्द्र स्थापनाका लागि सम्बन्धित निकाय सँग माग गर्ने निर्णय गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad