घुयलनेटा गाँउका भुकम्प पिडितलाई झाडापखालाको प्रकोप

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाँउमा ५० बढी भुकम्प पिडितलाई झाडापखाला देखिएको छ । भुकम्प पछि त्रिपालमा बस्दै आएका पिडितहरुलाई २, ३ दिन यता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए । उनले भने–‘गाँउका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका, तन्नेरी र बृद्धबृद्धा सवैलाई झाडाबान्ता देखिएको छ । उपचारका लागि खवर गर्दा कोही पनि आएनन् । घर घरमै विरामी छन् ।’

घुयलनेटाका साथै डौरीकाँडा, भुन लगायतका गाँउमा पनि पखालाका विरामी देखा परेका छन् । एक सय बढी घरधुरी रहेका ति गाँउमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउने लगायतका समस्या देखिएको स्थानियले बताएका छन् ।
स्थानिय धर्मशिला विकले आफु दुई दिन देखि पखालाले थला परेको बताइन । उनले आफुलाई पटक पटक दिसा गर्न मन लाग्ने , दिसा पातलो आउने, उल्टी आउला जस्तो हुने, मुटु दुख्ने, चक्कर आउला जस्तो हुने र स्वास फेर्न समेत गाह्रो हुने बताईन । ६ बर्षको छोरालाई पनि पखाला लागेको छ । गाँउमा विरामी नहुने कोही पनि छैन । धेरैलाई पखाला लागेको छ । रुघाखोकी त सवैलाई लागेको उनले भनिन निकै गाह्रो भैरहेको छ । नजिकमा स्वास्थ्य संस्था पनि छैनन् ।

गाँउमा धेरै विरामी भएको खवर सुनेपछि आफुले वडा नम्बर १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खवर गरेपनि उपचारको लागि गाँउमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताए ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले दिउसो २ बजेपछि घुयलनेटा गाँउमा झाडावाताले धेरैलाई विरामी पारेको खवर आएको तर अलि विकट ठाँउ भएको र अवेला पनि भैसकेकोले बुधवार जान नसकेपछि विहिवार औषधी र स्वास्थ्यकर्मी सहितको टोली लिएर प्रभावित क्षेत्र तर्फ जाने बताईन । विरामी भएको सुनेको छु । चिसो र खानपान नमिल्दा कोल्ड डायरियाको समस्या हुन सक्छ । त्यहाँ पुगेपछि मात्र कति विरामी रहेछन् र के भएको रहेछ जानकारी हुने उनको भनाई छ ।
जिल्लाका विभिन्न ठाँउमा पखाला, निमोनिया र स्वासप्रश्वास सम्बन्धी रोगका विरामी बढ्दै गएका छन् । जिल्लामा भुकम्प पछि चिसोका कारण २८ जना दिर्घरोगी र अन्य रोगका विरामीहरुको ज्यान गएको छ । त्रिपालको चिसोले भुकम्प पिडितलाई निकै सकस परिरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad