July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

पालिकाको खातामा थन्कियो ५० करोड, भुकम्प पिडितले पाउन सकेनन् अनुदान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पले घरवारविहिन बनाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटका भुकम्प पिडितलाई मंसिर भित्र अस्थायी आवासमा सार्ने भन्दै संघिय सरकारले पठाएको ५० करोड रुपैया पालिकाको खातामा गएर थन्किएको छ । पालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा भैरहेको ढिलाई गरेका कारण रकम थन्किएको हो । जिल्लाका कुशे, शिवालय, छेडागाड, बारेकोट र भेरी नगरपालिकाले २० हजार ३ सय ९५ लाभग्राही कायम गरि ५० हजार ५० करोड ९८ लाख ७५ हजार रुपैया सम्बन्धित पालिकाको खातामा पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । तर अहिले सम्म कुनै पनि पालिकाले लाभग्राहीलाई अस्थायी आवासका लागि रकम बाँड्न सकेका छैनन् ।

स्थानिय सरकारको ढिलासुस्तीका कारण भुकम्प गएको डेढ महिना पुग्न लाग्दा पनि संघिय सरकारले पठाएको रकम वितरण हुन नसकेको हो । पिडितहरु त्रिपालको चिसोले विरामी परेर ज्यानै जान थालेको छ तर प्रक्रियागत झन्झटका कारण भुकम्प पिडितले अस्थायी आवासका लागि अनुदान रकम लिन पाएका छैनन् ।
खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरेपनि स्थानिय सरकारले सवै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् । खाता खोल्न बैक जानु पर्ने , कतिपयको नागरिकता नभएको , घर भत्किएको प्रहरी मुचुल्का चाहिने लगायतका प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन निकै सास्ती भएको भेरी नगरपालिका ३ का भुकम्प पिडित सन्जीब श्रेष्ठले बताए । घर भत्किएको प्रहरी मुचुल्का, जिल्ला बाहिर अन्य ठाँउमा कतै पनि घर नभएको स्व घोषणा फारम, बैक खाता लगायतका काम समयमा हुन नसक्दा लाभग्राहीले समयमा अनुदान पाउन ढिलाई भएको हो ।

भुकम्पले घरबार विहिन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार गरि प्रतिपरिवार ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको महिना दिन पुग्न लागिसकेको छ । शिवालय गाउँ पालिकाले तीन हजार तीन सय ९ लाभग्राहीहरुलाई अस्थायी आवास निर्माण अनुदान अन्तर्गत प्रथम किस्ता वापतको रकम २५ हजारका दरले हुन आउने ८ करोड २७ लाख २५ हजार रकम लिएको दुई साता विति सक्दा पनि अहिले सम्म उसले लाभग्राहीलाई बाँड्न सकेको छैन । त्यस्तै हचुवाको भरमा रकम निकासा लिएका कुशे, छेडागाड र बारेकोटले पनि अझै लाभग्राही कायम गरि सम्झौता गर्न नसक्दा रकम बाँड्न सकेका छैनन् । छेडागाडले ३ हजार ६ सय ६४ घरधुरीको ९ करोड १६ लाख रुपैया निकासा लिएको स्थानिय प्रशासनले जनाएको छ ।

त्यस्तै बारेकोटले ५ हजार ५ सय ८६ घरधुरीका लागि १३ करोड ९६ लाख ५० हजार रुपैया निकासा लिएको छ । बारेकोटले अस्थायी आवासका लागि ९३ लाभग्राहीका खातामा २३ लाख २५ हजार रुपैया विहिवार हालेको जनाएको छ । कुशेले ५ हजार २ सय ८७ घरघुरीका लागि १३ करोड २१ लाख ७५ हजार रुपैया निकासा लिएको छ । धेरै क्षति भएको भेरी नगरपालिकाले २ हजार ५ सय ४९ लाभग्राही पहिचान गरि ६ करोड ३८ लाख २५ हजार रकम निकासा लिएको छ । भेरीले विहिवार वडा नम्बर ८ का ६७ जनाको खातामा १६ लाख ७५ हजार रुपैया जम्मा भएको जनाएको छ । धेरै क्षति भएको अर्को नगरपालिका नलगाडले अहिले सम्म रकम निकासा नै माग गरेको छैन । जुनीचाँदे गाँउपालिकाले पनि रकम निकासा लिन सकेको छैन । कार्यविधि अनुसार भेरी नगरपालिकाले बाहेक अन्य पालिकाले लाभग्राहीको सुची पेश गर्न सकेका छैनन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले रकम निकासा लिएपनि वडाहरुले लाभग्राहीको विवरण संकलनको काम नसकेकाले रकम वितरणमा ढिलाई भएको बताए । अस्थायी आवास निर्माण कार्यविधि २०८० अनुसार स्व घोषणा सहितको अनुसुची फारम १, २ र ३ भर्नु पर्ने भएकोले ढिलाई भएको बताए ।

संघिय सरकारले अस्थायी आवासका लागि जिल्ला विपद ब्यवस्थापन समिति मार्फत पठाएको ५० करोड रकम सवै पालिकाको खातामा पठाईसकिएको छ । अरु लाभग्राही कायम भएर आउने क्रम जारी रहेकाले थप ५० करोड रुपैया माग गरेका छौ तर प्राप्त भएको छैन सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्थानिय सरकारले लाभग्राही सँग सम्झौता गर्न ढिलाई गर्दा समस्या देखिएको बताए । लाभग्राही सँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाई भएको उनको भनाई छ । वडा कार्यालयमा दक्ष र प्रयाप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाई भएको पिडितहरुको गुनसो छ । भुकम्प पिडितलाई त्रिपालबाट अस्थायी आवासमा सार्न ढिलाई हुँदा पिडितहरु चिसोले ज्यानै समेत जान थालेको र धेरै विरामी पर्न थालेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad