सोती हत्या काण्डको अन्तिम सुनुवाईको बहस हेर्दाहेदैमा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा जाजरकोटका नवराज विक सहित ६ जना युवाहरुको ज्यान जाने गरि तीन बर्ष अघि भएको घटनाको मुद्धाको अन्तिम सुनुवाई बहस सुरु भएको छ । आईतवार बहस नसकिएपछि उक्त मुद्धा हेर्दाहेदैमा राखिएको छ । बहस सोमवार पनि जारी रहनेछ । २०७७ साल जेठ १० गते भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।
पेशी सुनुवाईको पहिलो दिन जाहेरीवालाको तर्फबाट दुई जना सरकारी वकिल र सात जना कानून व्यवसायी गरेर नौ जनाले बहस गरेका छन् । जाहेरीवालाहरुको तर्फबाट कानून व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादीहरुका तर्फबाट बहस हुने र त्यसपछि मात्र अदालतले फैसला सुनाउने रुकुम पश्चिम अदालतका निमित्त श्रेष्तेदार गोबिन्द कोईरालाले बताए । ‘बहसको क्रममा थप केही कुरा बुझ्नुपर्ने भए मात्र फैसलामा ढिलाई हुन सक्छ नत्र यो बहस सकिने वित्तिकै अन्तिम फैसला हुन्छ’, उनले भने ‘जाहेरीवालाको तर्फबाट चार जना सरकारी वकिल सहित १६ जना कानून व्यवसायीले बहस गर्नुहुनेछ भने प्रतिवादीको तर्फबाट ७ जना कानून व्यवसायीले बहस गर्नेछन् ।’

अदालतका अनुसार वादीकातर्फ जिल्ला न्यायधिवक्ता चन्द्रबहादुर सिंजालीका नेतृत्वमा चार जना सरकारी वकिलले बहस गर्दैछन् भने पीडितकातर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् । त्यस्तै, प्रतिवादीकातर्फ सात जना वकिलले बहस गर्ने अदालतले जनाएको छ ।
पीडित पक्षकातर्फबाट बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्ता त्रिपाठी, अधिवक्ताहरू मोहन शाशंकर, बद्री भुसालसहितको टोली रुकुम पश्चिम पुगेको छ ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाँउ नजिकै तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।
त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरु र केही दलित अधिकारकर्मीहरु रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिईरहेका छन् । न्यायको माग गर्दै नाराजुलुस सहित धर्ना दिएको उनीहरुको भनाई छ ।
नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षकालागि कारागार चलान भएका थिए ।

सो घटना लगत्तै रूकुम पश्चिमका सांसद एवं पुर्व मन्त्री जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी संसदमा ‘लकडाउन उलंघन गदै आएका युवालाई गाँउलेले लखेट्दा भागदौड गर्ने क्रममा भेरीमा हाम फाल्दा ज्यान गएको’ भन्ने अभिव्यक्ति विवादास्पद बनेको थियो । सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेश भएपनि सरकारले त्यो प्रतिवेदन सार्वजनिक समेत गरेन । समितिले सोती घटनामा योजनाबद्धरूपमा हत्या भएको निष्कर्ष निकालेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad