July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

जिल्ला समन्वय समिति जाजरकोटमा एमाले क्लीनस्वीप

प्रवाह संवाददाता । जाजरकोट
जिल्ला समन्वय समिति जाजरकोटको बुधवार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् । अन्य सदस्य पनि गठबन्धनकै निर्वाचित भएका छन् ।

काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेपछि जिल्ला समन्वय समितिमा एमाले क्लीन स्वीप भएको छ । समन्वय समितिमा काँग्रेसका खत्री निर्विरोध निर्वाचित भएका हुन् । उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । अन्य पदमा भने निर्वाचन भएको थियो । उपप्रमुखमा माओवादी केन्द्रका सिंहले ११ मत प्राप्त गरि विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका गोरे कार्कीले ३ मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यमा नेपाली काँग्रेसका खड्क बहादुर बुढा, चित्रप्रसाद शर्मा, जित बहादुर रोकाय, बिन्दु शाही र पानसा सिंह विजयी भएका छन् । त्यस्तै सदस्यमा माओवादी केन्द्रका नन्दकला बि.क र विनिता नेपाली विजयी भएका छन् । विनिता निर्विरोध निर्वाचित भएकी हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका मोहन पुन भने पराजित भएका छन् । उनको ठाँउमा काँग्रेसकै बागी उम्मेदवार जितबहादुर रोकायले जितेका छन् ।माओवादी केन्द्रले काँग्रेसले गठबन्धनका नाममा आफ्ना उम्मेदवारलाई धोका दिएको आरोप लगाएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि सात पालिकाबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी १४ जना भोटर रहेकोमा काँग्रेसका सात, माओवादी केन्द्रका चार र एमालेका तीन जना मतदाता रहेका थिए । निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत यज्ञराज आचार्यले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad