राजेन्द्र कार्की । जाजरकोट
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा केन्द्रिय सर्कुलर अनुसार सत्ता गठबन्धनका दल विच चुनावी तालमेल गर्ने सैदान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक विच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजबादी र समाजवादी जनता पार्टी विच चुनावी तालमेल गर्ने सहमति भएपनि भागबण्डा कसरी मिलाउने भन्ने सकस परेको छ ।
नेकपा समाजवादी र समाजवादी जनता पार्टीको खासै प्रभाव छैन । २०७४ सालमा सात स्थानिय तह मध्य तीन एमाले, दुई काँग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए । जितेका आफैले राख्दा पनि एमालेले जितेका तीन पालिकामा काँग्रेस र माओवादी केन्द्र विच भागबन्डामा तानातान पर्ने देखिन्छ । काँग्रेसले पाँच, माओवादी केन्द्रले पाँच र नेकपा समाजबादीले एक पालिका दावी गरेका छन् । काँग्रेस जितेका बाहेक सवै ठाँउमा निकटतम प्रतिद्धन्दी छ । दुई सय देखि हजार मतको अन्तरमा काँग्रेसका उमेदवार पराजित भएका थिए । यस हिसावले पनि काँग्रेसले पाँच पालिका पाउनु पर्ने अडानमा रहेको पार्टी सभापति वेदराज सिंहले बताए ।
माओवादीले पाँच दावी गरेपनि काँग्रेसलाई चार र आफुलाई तीन पालिका राख्न चाहेको छ । तर समाजवादीले कुनै पनि हालतमा एक पालिका आफुहरुको हुनु पर्ने अडानमा भएपछि भागबण्डामा सकस परेको हो । हामी एक्ला एक्लै चुनाव लड्दा पनि सवै पालिका जित्न सक्ने बलियो सम्भावना छ यद्यपी काँग्रेसको केन्द्रिय सर्कुलर अनुसार गठबन्धन गर्ने कुरामा हामी बाधक छैनौ तर काँग्रेसको यसपटकको बढ्दो जनमत, २०७४ सालको मत सवै कुरालाई मध्यनजर गर्दा पाँच भन्दा तल झर्ने पक्षमा नरहेको सभापति सिंहले बताए ।
धेरै कार्यकर्ताले भागबण्डाको नाममा न्यायोचित निर्णय नभए गठनबन्धन नस्वीकार गर्ने चेतावनी दिईरहेका छन् । त्यस्तै माओवादीले पनि आफ्नो प्रभाव क्षेत्र रहेको भन्दै गिभ एण्ड टेक को निति अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका नेता रामदीप आचार्यले गठबन्धन भए काँग्रेस र माओवादी दुवैलाई फाइदा हुने भएकोले मिलेर जान आग्रह गरे । जिल्ला स्तरबाट नमिले माथिल्लो निकायबाटै भएपनि भागबण्डा मिलाउनु पर्ने केही नेताहरुको धारणा छ ।
पार्टीहरुले वडा देखि गाँउ नगरसम्म उम्मेदवारहरुको नामबली चैत्र मसान्त भित्र पठाउन निर्देशन दिईसकेका छन् । वडा देखि पालिका सम्म आकाँक्षी धेरै देखिएका छन् । गठबन्धन हुने कुराले धेरै नेता तथा कार्यकर्ता उत्साहित पनि छन् भने केही ससंकित समेत छन् । गठबन्धन भए ढुक्क सँग जितिने भएकोले आफ्नो पालिकामा भाग पार्न र टिकट हत्याउन धेरै नेताहरु लागिपरेका छन् । जिल्ला र प्रदेश तहका नेताहरुको दैलो चाहर्न थालेका छन् ।
वडा सम्मै गठनबन्धन गर्ने सैद्धान्तिक सहमति गरेपनि कसरी भागबन्डा मिलाउने भन्नेमा काँगेस र माओवादी दुवैमा निकै सकस देखिएको छ । समाजवादीलाई मिलाउनु पर्ने र आफ्नै पार्टीका कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्नु पर्ने चुनौति यति वेला गठबन्धन दलका नेताहरुलाई परिरहेको माओवादी केन्द्रका नेता गगन खड्काले बताए ।
गठबन्धनको भागबन्डा मिलाउन माओवादी केन्द्रका नेता शक्ति बस्नेत र काँग्रेस नेता राजिब विक्रम शाह समेत लागि परेका छन् । उनीहरुले आन्तरिक तथा बाहय छलफललाई तिब्रता दिएका छन् । शक्ति बस्नेतले भागबण्डा मिलाउने विषयमा पार्टी भित्र र अन्य दलका जिम्मेवार नेताहरु सँग छलफल गरिरहेको एक नेताले बताए । ति नेताका अनुसार शक्ति बस्नेत जाजरकोटबाटै गठबन्धन मिलेको सन्देश दिन चाहनुहुन्छ । त्यसको लागि उहाँले होमवर्क गरिरहनु भएको छ ।