राजेन्द्र कार्की । जाजरकोट
कृषि गणनाका लागि जाजरकोटमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको छ । कृषि सँग सम्बन्धित आवश्यक तथ्यांक संकलनका लागि कृषि गणना हुन थालेको हो । राष्ट्रिय जनगणना समेत यसै बर्ष भएको छ । जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक भैसकेको छ भने विस्तृत विवरण आउन बाँकी छ ।
राष्ट्रिय कृषि गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइनेछ । कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहार सम्बन्धी विवरण, कृषिमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्नेछन् ।
कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालय जाजरकोटले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी उमेशकुमार कार्कीका अनुसार बारेकोटमा १३ वटा, कुशेमा १६ वटा, जुनिचांदेमा १६ वटा ,छेडागाडमा १८ वटा, शिवालयमा १२ वटा, भेरीमा १९वटा, नलगाडमा १५ वटा गणना क्षेत्रमा गरि जिल्लामा सात वटै स्थनिय तहका सबै वडाका एक सय नौ वटा गणना क्षेत्रबाट कृषि कृषिगणना हुने भएको हो ।
नेपालमा २०१८ सालदेखि प्रत्येक १०–१० वर्षमा कृषि गणना हुँदै आएको छ । यो सातौ कृषिगणना हो । गणनाका लागि जाजरकोटमा ११ सुपरीवेक्षक र ४१ गणक गरेर ५२ जनाको जनशक्ति खटाइने भएको छ । जनशक्तिलाई चैत २४ सम्म करारमा नियुक्ती गरिसक्ने र चैत २५ गतेबाट तालिम दिइने सुचना अधिकारी कार्कीले बताए । तालिम वैशाख ३ सम्म सञ्चालन हुनेछ । तालिमपश्चात ४५ दिनसम्म हुने मूल गणना वैशाख ६ गते देखि जेठ १९ सम्म हुने उनको भनाइ छ ।