राजेन्द्र कार्की । जाजरकोट
सात मत अन्तरले खिमबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी एमाले जाजरकोटको अध्यक्षमा निर्वाचित भएका छन् । एमाले जाजरकोटको छैटौ जिल्ला अधिवेशनमा सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि सोमवार भएको मतदानबाट शाही दुई सय १७ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी करवीर शाहीले दुई सय १० मत प्राप्त गरेका छन् । जिल्लाभरका चार सय ३३ जना प्रतिनिधिले मतदानमा सहभागी भएका थिए । कडा प्रतिस्पर्धा भएको निर्वाचनमा सात मत अन्तरले निवर्तमान अध्यक्ष समेत रहेका करवीर शाही पराजित भएका हुन् ।
उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छन् । बटालाले दुई सय २५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नवराज सिंहले एक सय ७७ मत प्राप्त गरेका थिए । सचिवमा वीरबहादुर गिरीले दुई सय १५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नरबहादुर खत्रीले एक सय ८६ मत प्राप्त गरेका छन् । प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका गिरी पहिलो पटक प्रत्यक्ष राजनितिमा होमिएका हुन् । उपसचिमा गोपाल नेपाली दुई सय ५८ मत र नरबहादुर बस्नेत दुई सय ४७ मत प्राप्त गरेर विजयी भएका हुन् । उपसचिवमा निर्वाचित बस्नेत बाहेक अरु सवै निर्वाचित पदाधिकारी खिमबहादुर शाही प्यानलका हुन् । खिम प्यानललाई पोलिटब्यूरो सदस्य भैरब सुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य द्धय चन्द्रप्रकास घर्ती र डम्बर सिंहको सर्मथन रहेको थियो भने अर्का केन्द्रिय सदस्य निरज आचार्यको करवीर प्यानलाई सर्मथन रहेको थियो ।
९० सदस्यीय जिल्ला कमिटीमा तीन महिला सहित प्रत्येक पालिकाबाट ९ जनाका दरले ६३, चार महिला सहित १० खुला, ६ दलित, ६ जनजाती र ५ पदाधिकारी चयन भएका छन् । भुगोलबाट अन्य पालिकामा सर्वसहमतिबाट सदस्य चयन भएपनि नलगाड र जुनीचाँदेमा सहमति हुन नसक्दा निर्वाचन भएको थियो । खुल्ला, दलित र जनजाती सदस्य पद्को निर्बाचन भएको छ ।
नवनिर्वाचित अध्यक्ष शाही एमालेमा बौद्धिक नेताको रुपमा परिचित छन् । अध्यक्ष शाहीले आफुलाई निर्वाचित गराउने सवैलाई धन्यवाद दिदै कसैको जित र हारको रुपमा नलिन कार्यकर्तालाई आग्रह गरे । पार्टीले प्रजातान्त्रिक प्रक्रिया अपनाएर नेतृत्व चयन गरेको बताउँदै अध्यक्ष शाहीले सवैलाई समेटेर अघि बढ्ने बताए । एमालेलाई थप सुदृढ र एकताबद्ध रुपमा अघि बढाउने शाहीको प्रतिवद्धता छ ।