January 23 - 2022, Sunday८ माघ २०७८, शनिबार

जसको मिहिनेतले जडिबुटी कम्पनी ४० बर्षपछि नाफामा

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले तीन वर्षयता मुहार फेरेको छ। स्थापनाको ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ। निरन्तर घाटामा गएर रुग्ण अवस्थामा पुगेको थियो। जडिबुटी उत्पादन तथा प्रशोधन लिमिटेडको महाप्रवन्धकमा ज्ञानेश्वर कार्की नियुक्त भए सँगै यस संस्थाले सफलताको सिढी उक्लन थालेको हो ।

२८ वर्षदेखि साधारणसभा तथा लेखा परीक्षण गर्न सकेको थिएन। तर, व्यवस्थापन चुस्तदुस्त भएसँगै नाफा कमाएर कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको छ। स्रोतसाधनको समुचित प्रयोग गरेका कारण कम्पनीले फड्को मारेको महाप्रबन्धक ज्ञानेश्वर कार्की बताउँछन्। ‘पहिलेका कुनै पनि नेतृत्वले उत्पादन क्षमता बढाउने योजना अर्थ मन्त्रालयमा पेस गरेका थिएनन्,’ कार्की भन्छन्, ‘म कम्पनीमा आएदेखि स्पष्ट भिजन बनाएँ। कर्मचारीको साथ पाएँ। सफलता प्राप्त गरेँ।’

कर्मचारी, जमिन, मेसिनरी प्लान्ट र पुँजी व्यवस्थापनमा रणनीतिक योजना बनाएर काम गरेसँगै परिणाम आएको उनले बताए। कर्मचारीलाई पनि प्रोत्साहन गरी काम गराएको बताए।

कम्पनीले २०७५/०७६ देखि नाफा कमाउन थालेको हो। सो वर्ष १ करोड ९२ लाख रुपैयाँ र २०७६/०७७ मा १ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष पनि नाफा गरेको जनाए पनि लेखापरीक्षण हुन बाँकी छ। ‘उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गर्दा नतिजा राम्रो आयो’, महाप्रबन्धक कार्कीले भने, ‘योभन्दा राम्रो गरेर उत्पादन र बिक्री बढाउने योजना छ।’ १ सय २४ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जनाले मात्रै काम गरिरहेका छन्। ‘मापदण्ड बनाएर बढी काम गर्ने कर्मचारीलाई बढी पारिश्रमिक दिने योजना ल्यायौं’, उनले भने, ‘त्यसले पनि सकरात्मक नतिजा दियो।’ उत्पादन बढेपछि कम्पनीले बिक्री वितरणको रणनीति पनि फरक बनायो।

कम्पनीले सरकारबाट १८ करोड ऋण लिएको छ। पूर्वाधार, अटोमेसनमा जान नयाँ भवन, ल्याब आधुनिकरण, प्रशोधन प्लान्ट अपग्रेड गरेको छ। कम्पनीले अहिले हर्बलबाट उत्पादन हुने सानो मूल्यका तर, मास प्रोडक्सनमा ध्यान दिएको छ। कोभिडका बेला सेनिटाइजर उत्पादन सुरु भयो। त्यसले पनि कम्पनीलाई उकास्न मद्दत गरेको छ।

सेनिटाइजर, साबुन, सञ्चो, सेम्पोजस्ता सबै उत्पादन नाफामा गएका छन्। महाप्रबन्धक कार्की अब आईपीओ जारी गर्ने बताउँछन्। ‘तीन वर्ष नाफामा नगई सेयरमा जान नपाइने नियम छ। नाफामा गएकाले अब सर्वसाधारणलाई आईपीओ जारी योजना छ,’ उनले भने, ‘यसबाट फेरि लगानी आउँछ। नयाँ उत्पादन ल्याउँछौं।’ तीन वर्षमा ३ अर्बको कारोबार गर्ने लक्ष्य लिएको उनले सुनाए। प्रत्यक्ष, अप्रत्यक्ष १० हजार बढीलाई रोजगारी दिने कम्पनीले जनाएको छ। ‘बन्द, रुग्ण पहिचान बनाएको कम्पनी अब पब्लिकमा गएर आधुनिक कम्पनी बनाउने छौं,’ उनले भने।

व्यवस्थापन सुधार गर्दा सरकारी उद्योग पनि नाफामा जान्छ भन्ने प्रमाणित भएको कम्पनीका अध्यक्ष सिन्धु ढुंगानाले बताएका छन्। ‘भर्ती केन्द्र प्रणालीको अन्त्य, कामदारलाई कार्यसम्पादनका आधारमा भुक्तानी, सरकारको ऋण र थप सेयरबाट पूँजी वृद्धि, खेतीयोग्य जमिन र कारखानाको पूर्ण उपयोगका कारण सफलता प्राप्त भएको हो,’ उनले भने। व्यवस्थापनमा राजनीतिक वा मन्त्रालयको हस्तक्षेप बन्द भएकाका कारण कम्पनीले फड्को मारेको उनले बताए। ‘उद्योग चलाउन निजी क्षेत्र नै चाहिन्छ वा निजीकरण गर्नु पर्छ भन्ने रैनछ,’ उनले उल्लेख गरेका छन्।

Prabaha

Pashusewa Karyalaya Jajarkot