महिला भलिबलमा नेपाल च्याम्पियन

काठमाडौं : नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिस्पर्धात्मक ३-२ को सेटमा हराउँदै उपाधि जितेको हो।

ढाकाको मिरपुरस्थित सहिद सुरवर्दी इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २६-२४ मै उज्वेकिस्तानलाई सुम्पिएको थियो। तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको नेपालले चौथो सेटमा खराब प्रदर्शन गरेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो। चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै २-२ को बराबरी गरेको थियो। पाँचौं सेटमा सुरुमा लय गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै १५-१० ले जित निकाल्यो। यससँगै नेपालले अपराजित रहँदै एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको हो।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-०, चौथो खेलमा उज्वेकिस्तानलाई ३-० र पाँचौं खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि दोस्रो पटक जितेको हो। यसअघि सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि पनि नेपालले जितेको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान र उज्वेकिस्तानले सहभागिता जनाएका थिए। ६ वटै टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए।

bhumi-sanrakshyan

यसैगरी पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा भने नेपाल पराजित हुँदै चौथो स्थानमा खुम्चिएको छ। ढाकामा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। एकपक्षीय खेलमा उज्वेकिस्तानले २५-१५, २५-१७, २५-२१ को सोझो सेटमा जित निकालेको हो।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya