पासो हालेर जाजरकोटमा चार ओटा दुर्लभ कस्तुरी मारिए

lagu ausadhi biruddha abhiyan jajarkot

हरिहरसिंह राठौर । जाजरकोट
वन्यजन्तु संरक्षण गर्ने सरकारी संयन्त्र नभएपछि एकै महिनामा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार वटा कस्तूरी मारिएका छन् । बारेकोटको मुल्सामस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्रस्ताव गरिएको वन्यजन्तु सरक्षण क्षेत्रमा हालै चार वटा कस्तूरी सिकारीले पासो हालेर मारेका हुन् ।
छिमेकी जिल्ला जुम्लाका सिकारीले चार वटा कस्तूरी मारेको स्थानीयवासीले प्रमाणसहित स्थानीय सरकारलाई सूचना दिएका थिए । तर वन्यजन्तु संरक्षणको लागि बारेकोटमा भरपर्दो जनशक्ति र संयन्त्र नभएपछि नियमण तथा नियन्त्रण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले गुनासो गरे ।
‘एक्लै जंगलमा गस्ती गर्न गए चोरीसिकारीको आक्रमणमा पर्ने डर हुन्छ,’ उनले भने, ‘कुशेपाटनदेखि रातापाटन, मुल्साम, हुँदै झारीलेकसम्मको बुकीपाटनमा जडिबुटी संकलनका नाममा चोरीसिकारी भइरहेको छ ।’
बारेकोटका पाटनहरूमा बर्सेनि वैशाख÷जेठ महिनामा जडिबुटी संकलनको काम हुन्छ । जडिबुटी संकलन गर्न पुगेका र भेडाबाख्रा गोठ लिएर गएका मानिसले वन्यजन्तुको सिकार र चोरीतस्करी गर्ने उनले बताए । ३ वर्षमा प्रहरीले बरामद गरेका १९ वटा लोपोन्मुख रेडपाण्डाका छालामध्ये १० वटा जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्यांक छ ।
घटनामा ८ जना जाजरकोटका युवा पक्राउ परेका छन । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।
कस्तूरी प्रजनन केन्द्र बन्दै
राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत बारेकोट गाउँपालिका–९ शक्लामा कस्तूरीपालन तथा प्रजनन केन्द्र स्थापना गर्न लागिएको छ । कोषले केन्द्रको भवन निर्माणका लागि १ करोड १८ लाख रुपैयाँ लाग्ने जनाएको छ । कोषका वरिष्ठ संरक्षण अधिकृत डा. नरेश सुवेदीले केन्द्रका लागि यस वर्ष १ करोडकै हाराहारीमा बजेट विनियोजन भएको बताए ।उनका अनुसार भवन निर्माणको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तूरी ल्याएर प्रजनन केन्द्र स्थापना गर्न लागिएको हो ।
‘नेपालमा पनि वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानुन निर्माण भइसकेको छ,’ उनले भने, ‘मासुको लागि चोरीसिकारी हुने जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भइसकेको छ ।’उनले मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी रहेको जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad