राजेन्द्र कार्की । जाजरकोट
नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा कुदु बराहचौर नजिक राती दुई बजे दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाईएका कुशे गाँउपालिका ९ का ३५ बर्षिय विरबहादुर नेपालीको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । त्यस्तै घटनास्थलमै कुशे ९ जाजरकोटकी १८ बर्शिया अनिला नेपाली, आठबिसकोट ५ रुकुम पस्चिमकी २४ बर्षकि सन्ध्या मल्ल शाही र उनकी ४ निबासी ४ बर्षिया छोरी दिब्या शाहीको मृत्यु भएको छ । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ बर्शिय शेर बहादुर परियार, र सप्तरी राजबिराज नगरपालिका १ घर भै दिपेन्द्र आधारभुत बिद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गगाराम यादबको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
‘पुरै हुस्सु लागेको थियो । आगाडी बाटो केही देखिएको थिएन । स्याल आएको जस्तो देखियो । मोड कटिसकेको थियो तर पनि गाडी पल्टिहाल्यो’ चालक चित्र बहादुर देनारले भने ‘त्यसपछि केही थाह भएन । म आफै पनि घाइते छु । होस आउँदा यात्रुहरु कराईरहेका थिए ।’ प्रहरीका अनुसार गाडी दुई सय मिटर तल खसेको छ । गाडी कच्याककुचुक भएको छ । राती नै डिएस्पी थापाको कमान्डमा गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो । शसस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत उद्धारमा खटिएको थियो । प्रहरीले मोड बाटो, बाक्लो हुस्सु र तिव्र गतिका कारण दुर्घटना भएको जनाएको छ । प्रहरी नायव उपरीक्षक थापाले अगाडी बाटो क्लियर नदेखेरै चालकले गाडी हुइक्याएका कारण दुर्घटना भएको बताए । गाडीका सवै यात्रु निदाएका थिए । एक्कासी ठुलो आवाज आयो बम पड्केको जस्तै त्यसपछि केही थाह भएन घाइते शेरबहादुर खत्रीले भने ‘होस खुल्दा यात्रुहरु कराइरहेका थिए । कोही बसमै चेपिएका थिए । केही बेरपछि प्रहरी आएर अस्पताल पुर्यायो भगवानको कृपाले बाँचियो’ उनले भने केही यात्रुले भने चालक समेत निदाएकोले दुर्घटना भएको आशंका गरेका छन् ।
बस दुर्घटनाका गंभिर घाइते ६ जनालाई हेलिकोप्टरबाट र नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । टाउको र छातीमा चोट लागेर बेहोस भएका उनीहरुलाई भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिले सम्म होस खुल्न सकेको छैन । कुशे ९ जाजरकोटका देवीसरा नेपाली उनका श्रीमान वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । श्रीमान वीरबहादुरको मृत्यु भैसकेको छ । त्यस्तै नलगाड ४ कि आस्था वलीको अवस्था पनि गंभिर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ । आठविसकोट ५ का शरोज शाही र आठवीसकोट ४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको हो । उनीहरु सवैको अवस्था गंभीर छ । घाईतेहरुको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।
त्यस्तै विपना परियार, बर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा, दिपक चनारा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाईएको छ । १२ जना उपचार पछि घर फर्किएका छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । यस अघि यसै छिन्चु जाजरकोट सडकको जाजरकोट खण्डमा दुई ठुला दुर्घटना भएका थिए । २०७२ मंसिर ४ मा भेरी नगरपालिका १० रावतगाँउमा बस भेरी नदीमा खस्दा ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०७४ माघ २६ मा भेरी नगरपालिका ४ बोहरामा बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो । थोत्रा गाडी, घुम्ती, मोड र साँघुरोबाटो,चालकको लापरवाही, धेरै यात्रु लगायतका कारण पटक पटक दुर्घटना हुने गरेका छन् ।