प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले मानब अधिकार प्रत्येक ब्यक्तिको नैसर्गिक अधिकार भएको बताएका छन् । एम्नेष्टि इन्टरनेशनल जाजरकोट ग्रुप ७७ को सदरमुकाम खलंगामा स्थापना गरिएको कार्यालयको आइतवार उद्घाटन गदै प्रजिअ देवकोटाले मानव अधिकार क्षेत्र निकै गहन र संवेदनशील विषय भएको बताए ।
ब्यक्तिको मानव अधिकारको ग्यारेन्टी र सुनिश्चितताका लागि राज्य सदैब क्रियाशिल रहने बताउँदै उनले भने ‘मानव अधिकारको क्षेत्रमा हामी शुन्य सहनशीलता कायम गर्न चाहन्छौ । ब्यक्तिले गल्ती गर्दा अपराध हुन्छ । राज्यका निकायले शक्ति र सत्ताको आडमा कानुन उलंघन गर्दा त्यो मानव अधिकार हनन हुन्छ । यस तर्फ हामी सचेत छौ ।’ धेरैलाई मानव अधिकार के हो थाह नै हुँदैन तसर्थ एम्नेष्टि इन्टरनेशनलले मानवअधिकार शिक्षा प्रर्वद्धनमा विशेष पहल गर्न उनले आग्रह गरे ।
दुई बर्ष अघि निर्माणाधिन समुहको रुपमा स्थापना भएको एम्नेष्टि इन्टरनेशनल नेपालले हालै जाजरकोटलाई ग्रुप ७७ को रुपमा मान्यता दिएको हो । कार्यालय उद्घाटन कार्याक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मधुकुमार थापा र शसस्त्रका प्रहरी नायव उपरीक्षक नरेश भण्डारीले सुरक्षा निकाय मानव अधिकारको क्षेत्रमा निकै संवेदनशील रहेको बताए । एम्नेष्टि इन्टरनेशनल जाजरकोट ग्रुपका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा संस्थाका सदस्य खम्बजंग शाहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव बालकुमार शर्माले गरेका थिए ।