चुलो वितरणमा अनियमितता, दलितका नाममा ठगी !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

पुर्ण जातिय छुवाछुत मुक्त अभियान अन्र्तगत भेरी नगरपालिकाले वडा नम्बर ११ कटि गाँउ स्थित दलित बस्तीमा वितरण गरिएका धुवाँ रहित चुलोमा अनियमितता भएको पाइएको छ । कमसल खालका चुलो वितरण गरेर बढी विल पेश गरि अनियमितता गरेको स्थानियको गुनासो छ ।

धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिएपनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानिय दलबहादुर कामीले बताए । उनले आफुले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको बताए । टिनको चुलो भएकोले बाल्ने वित्तिकै निकै तातिने र वल्डिङ्ग गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताए । उनले चौरजहारीमा १७ सय पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश गरेर आफुहरुलाई ठगि गरेको गुनासो गरे ।

नगरपालिकाले चुलो खरीद र वितरणका लागि कटिगाँउ कृषक समुह सँग सम्झौता गरि जिम्मा दिएको थियो । समुहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरीद गरियो भन्ने कुरा समितिका पदाधिकारी समेत अनभिज्ञ छन् । समितिका अध्यक्ष नरबहादुर आफुलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । मेरो पनि चित्त बुझेको छैन उनले भने । उनका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै एक सय ३८ चुलो खरीद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफुहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् । अध्यक्ष नरबहादुरले नगरबाट १३ लाख ५६ हजार रुपैया निकासा भएकोमा सम्झौता अनुसार अनुगमण र केही चुलो खरीदका लागि दुई लाख ५० हजार रुपैया नगरपालिकालाई दिएको बताए । त्यस रकमबाट २० ओटा चुलो किनेर उपलब्ध गराएको बताए । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरीद गरेका चुलो निकै कमसल भएको उनले बताए । नगरले दिएका चुलो राम्रो भएको र अमृतले खरीद गरि ल्याएका चुलो कमसल भएपछि गाँउमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गरे । नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए एक स्थानियले भने ।

तर कोषाध्यक्षका श्रीमान अमृतले विपन्न गाँउमा चुलो कार्यक्रमका लागि आफुले पहल गरेको तर खरीदमा आफ्नो संलग्नता नभएको दावी गरे । चुलो खरीद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन उनले भने । भेरी नगरपालिका ११ नम्बरका वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानियले गुनासो गरिरहेको बताए ।

समितिका अनुसार नगरपालिकालाई चुलो खरीद र अनुगमनका लागि दिएको दुई लाख पचास हजार कटाएर बचेको रकमबाट एक सय ३८ चुलो रारा इन्जिनियर वर्कसप कम्पनी सुर्खेतबाट खरीद गरिएको थियो । एउटा चुलोको कम्तिमा ८ हजार बढी नै परेको देखिन्छ । जुन बजार मुल्यको भन्दा निकै बढी हो । समितका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौ साथीहरु उतै कुरा मिलाउहोस भनेको बताए । प्रवाह अनलाइनले कम्पनी सँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

नगरपालिकाले पुर्ण जातिय छुवाछुत मुक्त अभियान अन्तर्गतको १४ लाख ७५ हजार रुपैया अन्तिममा आएको र फ्रिज गर्नु भन्दा दलित बस्तीमा चुलो वितरण गरौ भन्ने असल मनसायले कटिगाँउमा रहेको कटिगाँउ कृषक समुहका नाममा गत असार ११ गते सम्झौता गरि रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अनिश शाहले बताए । उनले रकम समेत समुहका नाममा निकासा दिईएको र खरीद समेत उनीहरुले नै गरेकोले यसमा नगरपालिकाको संलग्नता नरहेको बताए । गुनासो आएकोले यस सम्बन्धमा के भएको हो आवश्यक छानवीन गर्न सकिने उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad