April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

राताचौरमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुदै

सहदेव बस्नेत । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । पूर्व मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास गरेर केन्द्र स्थापनाको शुभारम्भ गरेका हुन् ।

लिमिटेडले सदरमुकाम नजिकैको राताचौरमा ८ करोडको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गर्न लागेको हो । जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय भवनको निर्माण कार्य आगामी २०७९ जेठ ११ गते सम्पन्न गर्ने गरी ज्ञान ज्योती बिल्डर्स प्रा.ली. कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको छ । भवन सिलन्यास गदै पुर्व बन तथा वातावरण मन्त्री बस्नेतले जाजरकोटमा स्थापना हुने जडीवुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । जिराको भाउमा बिक्री हुदै आएका जडीवुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गरेर हिराको भाउमा विक्री गर्न प्रशोधन केन्द्र स्थापना गर्न लागिएको बस्नेतले बताए । नक्सामा वन क्षेत्र देखाईएका ठुला पाटन तथा घाँसे मैदानहरुमा बहुमुल्य जडीवुटी तथा बिश्व बजारसंग प्रतिष्पर्धा गर्ने गरी फलफुल खेती गर्नु पर्छ उनले भने–‘ जल, जमिन, जडीबुटी र पर्यटनको सहि सदुपयोगले मात्र कर्णालीको सुन्दर भविश्य मुखरित हुन्छ ।’ बस्नेत बन तथा वातावरण मन्त्री भएकै बेला जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने नितिगत निर्णय भएको थियो ।

 

नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले औषधीजन्य जडीबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । लिमिटेडले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुर लगाएतका औषधिजन्य जडीवुटीको उत्पादन गर्नुको साथै प्रशोधन गरेर बजारीकरण गर्ने कार्कीले बताए । लिमिटेडले जाजरकोटमा बार्षिक १० करोडको कारोबार गर्ने लक्ष्य राखेको जानकारी दिदै महाप्रबन्धक कार्कीले नेपाल सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएमा लिमिटेडले जाजरकोटमा गाँजा उत्पादन गर्नुको साथै गाँजालाई प्रशोधन गरेर सिल्पिङ्ग ट्याब्लेट, पिङ्किलर जस्ता औषधीको उत्पादन गरेर बजारीकरण गर्ने बताए ।

वनबाट काठजन्य उद्योग संचालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्या पर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने महाप्रवन्धक कार्कीको भनाई छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष तथा नेपाल सरकारका सह–सचिव डा. सिन्धु प्रसाद डुङगानाले वन्यजन्तुमा कस्तुरी पालनको श्रोत केन्द्र र जडीवुटी उत्पादन तथा प्रशोधन केन्द्र गरी दुई वटा कार्यक्रम जाजरकोटमा संचालन भई रहेको बताए । बिगतमा घाटामा गएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड पूर्वमन्त्री बस्नेतको कार्ययोजना अनुसार अघि बढेपछि हाल नाफामा जान सफल भएको डा. डुङगानाको भनाई रहेको थियो ।

जाजरकोटमा स्थापना भएको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जाजरकोटलाई मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा योगदान गर्नेमा डा. डुङगानाको बिश्वास छ ।

भवन सिलान्यास कार्यक्रममा नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, नेकपा माओवादी केन्द्र जाजरकोट अध्यक्ष ढकवीर राना, नेपाली कांग्रेसका प्रतिनीधि खम्ब जंग शाह, नागरिक अगुवा राजेन्द्र विक्रम शाहले शुभ कामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि, अतिथि र उपस्थितहरुलाई जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मन बहादुर रावलले स्वागत मन्तब्यबाट स्वागत गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad