कमल दह संरक्षणमा जुटे स्थानिय

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । रुकुमकोट

रुकुम पुर्वको सिस्ने गाँउपालिका ५ रुकुमकोटमा रहेको सुन्दर कमल दह संरक्षणमा स्थानिय सरकारले चासो नदिएपछि दह संरक्षणमा स्वःस्फुर्त रुपमा स्थानिय जुटेका छन् । स्थानिय मदन शाहको नेतृत्वमा कमल दह सरसफाई तथा संरक्षण अभियान थालिएको हो ।
पछिल्लो समयमा कमल दहमा प्रदुषण बढ्न थालेको छ भने नजिकैको बनजंगल विनास हुँदा पानीको सतह घटदै गएको छ । बर्षातको समयमा दह भरिएर बाहिर बग्थ्यो तर केही बर्ष यता चार, पाँच मिटर तल पानी घटेको छ । यो चिन्ताको विषय हो स्थानिय मदन शाहले भने त्यही भएर हरेक शनिवार कमल दह सरसफाई अभियान संचालन गरिरहेका छौ । शाहको नेतृत्वमा हरेक शनिवार कमल दहको सरसफाई र छेउछाउमा बृक्षारोपण अभियान संचालन भैैरहेको छ । सुरक्षाकर्मी र स्थानिय बासिन्दाको सक्रियतामा कमल दह सरसफाई अभियान नियमित संचालन भएको ११ औ साता पुगेको शाहले बताए ।


स्थानिय सरकारको रुपमा रहेको सिस्ने गाँउपालिकाले कमल दह संरक्षणका नाममा कुनै सहयोग नगरेको अभियान्ता शाहले बताए । हरेक बर्ष दहमा रहेको कमलको जरा निकाल्नको लागि एक डेढ लाखमा टेण्डर गरेर राजश्व असुली गर्ने गरेको भएपनि ताल संरक्षणमा कुनै चासो नदिएको उनले बताए । ठेकेदारले जथाभावी कमलको जरा निकाल्दा कमल नै सुक्ने अवस्थामा पुगेको र लोप हुने अवस्थामा पुगेपछि यस बर्ष देखि जरा निकाल्न बन्द गरिने उनले बताए । एक बर्ष रोकेर अर्कोे बर्ष निकाल्दा केही असर हुँदैन तर प्रत्येक बर्ष निकाल्दा कमलको विउ नै मासिने भएकोले स्थानिय युवाहरुको पहलमा यस बर्ष देखि गाँउपालिकालाई टेण्डर गर्न नदिने र जरा पनि निकाल्न नदिने गरि अभियान चालिएको शाहले बताए । सिस्ने गाँउपालिकाले आफु निकट बामदेव गौतमलाई कमल दह संरक्षण समितीको अध्यक्ष तोकेको छ । तर त्यो समितिले अहिले सम्म दहको संरक्षणमा कुनै चासो दिएको छैन । गाँउपालिकाले उल्टै दहबाट हरेक बर्ष राजश्व दोहन गरिरहेको छ तर यसको संरक्षण सम्बद्र्धन, सरसफाई तथा प्रचार प्रसारमा कुनै अग्रसरता नदेखाएको स्थानियको गुनासो छ । प्रकृतिले दिएको सुन्दर उपहारलाई बिग्रन भत्कन दिनु हुदैन । यसको सरक्षण र सम्बर्द्धन गर्नु हाम्रो दायित्व र कर्तव्य दुबै हो शाहले भने ।

नागवेली डाँडाहरुले घेरिएको सुन्दर रुकुमकोट उपत्यका र मध्यपहाडी राजमार्गको छेउमै रहेको सुन्दर कमल दह(ताल) आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । पाइला जस्तो आकारमा उत्तर–दक्षिण फैलिएको कमल तालमा यतिवेला कमल फुलेर ढकमक हुन थालेको छ । कमलको फुलले यो तालको सुन्दरता अझ थपेको पाइन्छ । तालको चारै तिर कमल तैरिरहेको र विभिन्न जातका चराहरु तालमा डुबुल्की मारेको दृश्यले जो कोहीलाई पनि आर्कषित गरिरहेको हुन्छ । समुन्द्रि सतह देखि एक हजार पाँच सय ८१ मिटर उचाइमा रहेको यो ताल एक हजार नौ सय ५० बर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो दह करीव ३५ मिटर गहिरो छ । जैविक विविधताका दृष्ट्रिकोणले महत्वपुर्ण यो तालमा जेठ देखि कार्तिक महिना सम्म कमलको फुलले ढाकेको हुन्छ । रुक्मिणी तालको नामले चिनिने यो तालमा कमल पाईने भएकोले पछिल्लो समय कमल दह (ताल) को नामले चिनिने गरिन्छ । कमलको जराको अचार एकदमै स्वादिष्ट हुने गरेको छ । चाना सुकाएर राख्ने गरिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब, दम, कमलपत्ति(जन्डिस) लगायतका रोगहरुको औषधीको रुपमा प्रयोग गरिन्छ । असार, साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले सुनमा सुगन्ध थपे झै हुन्छ । यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडिबूटिहरू पाइन्छन् ।

निलो कञ्चन तालले समय अुनसार रंग समेत फेर्ने गरेको स्थानियको भनाई छ । करीव ४० प्रजातिका चराहरु ताल आसपासमा बस्ने गर्दछन् । जाडो याममा अन्य देशबाट समेत आगन्तुक चरा आउने गर्दछन । ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा वर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज र बडादशैंमा भब्य मेला लाग्ने गरेको स्थानिय फनेन्द्र आचार्यले बताए । तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ । रुकुम पुर्व सिस्ने गाँउपालिका ५ रुकुमकोटको बाहुन्थानामा अवस्थित यो तालमा नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुसार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ । आचार्यका अनुसार चैत्र पहिलो सातादेखि वैशाख अन्तिम सातासम्मको समय पानीमुनि रहेको कमल निकाल्ने उपयुक्त समय मानिन्छ । पौडिएर तालभित्र पसेपछि डुबेर खुट्टाले छामेर कमल पानीभित्र छ भन्ने पक्का गरिन्छ ।

 

कमल भएको पक्का भएपछि पानीबाहिर आएर लामो सास फेरिसकेपछि फेरि पानीभित्र डुबेर कमलको जरा निकालिन्छ । यसरी निकालेको कमललाई तालमाथि नै छोड्दै तीन–चारपटक यो क्रिया दोहो¥याइन्छ । यसपछि कमललाई पौडिँदै गएर पानीबाहिरै ल्याइन्छ आचार्यले भने ।
यसरी निकालेको कमललाई प्रतिकिलो चार सयका दरले बिक्री गर्ने गरिएको स्थानिय उर्मिला गौतमले बताइन । उनका अनुसार, कमल काँचै पनि खान सकिन्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गरिन्छ । स्वदेशका विभिन्न ठाउँका साथै विदेशमा पनि रुकुकोटको कमल निर्यात हुने गरेको छ । जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । साउन महिनाभरि ताल छेउछाउको भाग हरित बनिसक्छ । त्यसपछि कमल फुल्न सुरु गर्छ । फुलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । यो बेला ताल घुम्न लायक हुन्छ । यहाँ दैनिक एक सय जना सम्म ताल हेर्न आउने गर्दछन् ।

तालकै छेउमा रहेको ब्राम्हाजीको मन्दिर पनि पर्यटकहरुलाई थप आर्कषित गर्ने गर्दछ । ताल घुमेर मन्दिरको दर्शन गरे मनोकाँक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
काठमान्डौैबाट पोखरा बाग्लुङ्ग हुँदै मध्यपहाडी राजमार्गबाट रुकुमकोटमा रहेको कमल ताल पुुग्न सकिन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad