April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

कोरोना महामारीको संभावित तेस्रो लहरबाट बच्न जाजरकोटमा प्रति कार्ययोजना

राजेन्द्र कार्की । जाजरकोट

कोरोना महामारीको संभावित तेस्रो लहरबाट बच्न जाजरकोटमा प्रति कार्ययोजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिप्रसाद देवकोटको नेतृत्वमा बनेको कार्यदलले प्रतिकार्य योजना तयार गरेको हो । स्वास्थ्य मन्त्रालयले असोज १५ देखि तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएको छ ।

उक्त कार्यदलले तयार गरेको प्रतिकार्य योजना जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले पारित समेत गरिसकेको छ । हालको जनशक्ति र तयारीको अवस्थाको विश्लेषण गरि आगामी दिनमा गर्नुपर्ने तयारीको बारे प्रति कार्ययोजनामा समेटिएको छ । गृह मन्त्रालय केन्द्रिय विपद ब्यवस्थापन समितिको निर्देशनमा कार्ययोजना तयार पारिएको प्रशासकिय अधिकृत देवकोटाले बताए ।

जिल्लामै हाल सम्म पिसिआर मेसिन नभएकोले परिक्षणमा निकै ढिलाई र सास्ती खेप्नु परेको उल्लेख गदै तीन महिना भित्र पिसिआर मेसिन खरिद गर्ने, तीन महिना भित्र अक्सिजन प्लान्ट स्थापना गर्ने, जिल्लाका चार स्थानमा तत्काल औषधीको बफर स्टक गर्ने, जिल्ला अस्पतालमा अलपत्र परेको भेन्टिलेटर सेवा सुचारु गर्न एक महिना भित्र विशेषज्ञ जनशक्तिको ब्यवस्था गर्ने, अस्पतालमा बालरोग विशेषज्ञ लगायतका पदहरुमा तत्काल पदपुर्ती गर्न पहल गर्ने, जनचेतनामुलक प्रचारप्रसार गर्ने, लकडाउनको पालना गराउने, वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय निगरानी समुह मार्फत महामारी नियन्त्रणमा सघाउने प्रतिकार्य योजनामा उल्लेख छ ।

साथै सवारी साधनलाई बेलाबेला सेनिटाइज गर्ने, ६ महिना भित्र सवै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने ब्यवस्था मिलाउने, संस्थागतत आइसोलसन बनाइ तयारी अवस्थामा राख्ने, कोरोना संक्रमितलाई मनोपरामर्श सेवा प्रदान गर्ने, जिल्लामै ब्लड बैक नभएको हुँदा दुई महिना भित्र ब्लड बैकको स्थापना गर्ने, सवै स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर, अक्सिमिटर र अक्सिजन कन्सन्टेटर स्थापना गर्ने कार्ययोजनामा समेटिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । पहिलो र दोस्रो लहरको कोभिडको सामना गरिसकेको र धेरै कुरा अनुभव भएकोले सोही आधारमा संभावित तेस्रो लहरबाट बच्न चाल्नु पर्ने कदम बारे कार्ययोजनामा समेटिएको प्रजिअ देवकोटाले बताए ।

प्रतिकार्ययोजना कार्यान्वयनका लागि वडा देखि स्थानिय सरकार हुँदै प्रदेश सरकार र संघिय सरकारले दायित्व लिनु पर्ने कुराहरु छन् । त्यस्तै स्थानिय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, उद्योग बाणिज्य संघ, संचारमाध्याम लगायतले गर्नुपर्ने र खेल्नुपर्ने भुमिका बारे किटानका साथ जिम्मेवारी बाँडफाँड गरिएको प्रजिअ देवकोटाले बताए । प्रतिकार्ययोजना निर्माणमा प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्य कार्यालय, नगरपालिका लगायतको संलग्नता रहेको थियो । स्वास्थ्य मन्त्रालयले असोज १५ मा कोरोनाको तेस्रो लहर आउन सक्ने र मंसिरमा संक्रमण पुनः बढ्न सक्ने प्रक्षेपण गरेको अवस्थामा जाजरकोटले पुर्वतयारी थालेको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad