राजेन्द्र कार्की । जाजरकोट
सुगमका बासिन्दा मोवाइलबाटै सवै किसिमको बैकिङ्ग कारोवार गर्छन तर दुर्गमका बासिन्दा आफुले श्रम गरेर कमाएको पैसा लिन पनि ठुलो संघर्ष गर्नु पर्ने बाध्यता छ । गाँउमा बैक नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट श्रम गरेर कमाएको रकम लिन जाजरकोटको जुनीचाँदे गाँउपालिकाका बासिन्दालाई ठुलो सास्ती खेप्नु परिरहेको छ ।
सदरमुकाम सम्म पुग्न जुनीचाँदेबाट पैदल र गाडी यात्रा गरेर पुरै एक दिनको समय लाग्छ । जुनीचाँदे १ कि धनि तिरुवा रोजगार कार्यक्रमको रकम लिन शनिवार सदरमुकाम पुगिन । आइतवार दिउसो सदरमुकाम खलंगा स्थित कृषि विकास बैक आसपासमा भेटिएकी धनि हातमा नागरिकताको फोटोकपी, एक हजार रुपैयाको भौचर र एक प्रति फोटो तयार गरेर पालो कुरिरहेकी थिइन । रकम कतिखेर पाइने हो । होटलमा कतिदिन बस्नु पर्ने हो केही टुङ्गो छैन ।
रोजगार कार्यक्रमको रकम भुक्तानी सम्बन्धित ब्यक्तिको बैक खातामा नै जम्मा गर्ने अनिवार्य ब्यवस्था गरेको तर गाँउपालिका भर एउटा पनि बैक नभएपछि स्थानियले सास्ती पाएका हुन् । जुनीचाँदेबाट सदरमुकाम खलंगा आइपुग्न दुई हजार गाडी भाडा लाग्छ । संघिय राजधानी काठमान्डौ जाने भाडा पनि दुई हजार नै छ । महँगो भाडा, अफ्यारो सडक, होटलबाट रोजगारबाट कमाएको आधा पैसा बाटोमै सकिने भो उनले भनिन ‘हामीलाई साह्रै दुःख भो । गाँउमै रकम दिने ब्यवस्था गरिदिएको भए कति जाति हुन्थ्यो ।’ रोजगार कार्यक्रमका समेटिएकाहरुको बैक खाता यस अघि नै खोलिएको भएपनि बैकले पुनः खाता अध्याबधिक गर्न विभिन्न कागजात मागेको छ । कतिबेला के मिलेन भन्छन कतिबेला के भन्छन् पैसा निकाल्न निकै गाह्रो भो धनिले गुनासो सुनाइन ।
उनी जस्तै जुनीचाँदे ३ डाँडाकोटकी पाना नेपाली पनि रोजगार कार्यक्रमको रकमका लागि भौतारिरहेकी छन् । उनी भन्छिन–‘काम गर्नु भन्दा रकम लिन पो सास्ती हुने रहेछ ।’ पहिलो पटक सदरमुकाम आएका उनीहरुलाई बैकिङ्ग कारोवार सम्बन्धी धेरै कुरा थाह छैन । जुनीचाँदेबाट ठुलो संख्यामा मानिसहरु रोजगार कार्यक्रमको रकम लिन यतिवेला सदरमुकाममा ओइरिएका छन् । अधिकाँश अशिक्षित दलित, गरीव तथा महिला उक्त कार्यक्रममा समेटिएका छन् । तर उनीहरुलाई धेरै कुरा थाह छैन । त्यहि भएर झन समस्यामा छन् ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार र विपन्न बर्गलाई बर्षमा एक सय दिन बराबरको रोजगार दिने गरि बजेटको ब्यवस्था गरेको छ । यस कार्यक्रमबाट जुनीचाँदेका एक हजार दुई सय १५ जना बेरोजगार समेटिएका छन् । उनीहरुको रोजगारीका लागि सरकारले ६ करोड २० लाख ३२ हजार रुपैया पठाएको रोजगार संयोजक धनबहादुर बस्नेतले बताए । एक जनालाई एक दिनको ५ सय १७ रुपैयाका दरले सय दिनको ५१ हजार सात सय रुपैया भुक्तानी दिने गरेको छ ।
प्रधानमन्त्री रोेजगार कार्यक्रमको रकम लिन जाजरकोट सदरमुकाम खलंगा आएका जुनीचाँदेका स्थानियहरु तस्वीर राजेन्द्र कार्की
रकम दुरुपयोग हुने गरेको गुनासो पछि अनिवार्य बैक खातामा हाल्ने गरिएको र रकम समेत अन्तिममा निकासा भएकोले पनि पैसा निकालेर बाँड्न समस्या भएको संयोजक बस्नेतले बताए । गत असार २२ गते मात्र पाँच करोड ५५ लाख रुपैया निकासा भएकोले गर्दा पनि आर्थिक बर्षको अन्मिममा रकम बैक खातामा हाल्दा एकै पटक भीडभाड भएको उनको भनाई छ । रकम लिन आउनेहरु अधिकांश महिला छन् ।
१८ देखिख ५९ बर्ष उमेरका बेरोजगारलाई रोजगार दिने गरि थालिएको यो कार्यक्रम खासै प्रभावकारी देखिएको छैन । झारा टार्ने खालका आयोजनाहरुमा करोडौ बजेट सक्ने गरेको ब्यापक गुनासो आउने गरेको छ । तर जुनीचाँदेमा त्यसरी रकम दुरुपयोग नभएको रोजगार संयोजक बस्नेतको दावी छ । उनले विद्यालयको फिल्ड निर्माण, घेराबार, सडक मर्मत, मन्दिर निर्माण र नयाँ गोरेटो बाटो निर्माणका एक सय पाँच आयोजनामा रकम खर्चिएको बताए ।
जुनीचाँदेको केन्द्र विवाद अहिले सम्म सुल्झन नसकेकोले गर्दा जुनीचाँदेमा बैक गएको छैन । सरकारले जुनीचाँदेमा कृषि विकास कार्यालयको शाखा स्थापना गर्ने निर्णय गरेको भएपनि सुरक्षा र केन्द्रको स्थायित्वको कारण दर्शाउँदै बैक जान नमानेपछि सरकारको निर्णय कार्यान्वयन हुन नसकेको हो । जसका कारण सयौ सर्वसाधारणले यसरी नै सास्ती खेपिरहेका छन् ।