डिप बोरिङ मार्फत खानीपानी र सिंचाइ, स्थानिय खुसी !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । विष्णेचौर ,

खेतीयोग्य फराकिलो जमिन भएर पनि सिंचाई सुविधा नहुँदा भेरी नगरपालिका–१२ विष्णेचौरका बासिन्दा आकासेपानीको भरमा खेती लगाउन बाध्य थिए । समयमा बर्षात भए प्रसस्त उब्जनी हुन्थ्यो नत्र सुख्खा भरुभुमि जस्तै उत्पादन शुन्य हुन्थ्यो । सिचाइका त कुरै छोडौ पिउने पानीको समेत निकै अभाव खेप्नु पथ्यो विष्णेचौरवासीले ।

एक गाग्री पानी लिन एक घण्टा तल भेरीनदीबाट अफ्ठयारो बाटोमा जोखिम मोलेर ल्याउनु पथ्र्यो । पशुबस्तुका लागि खानेपानी, सरसफाई र आफ्ना लागि खानेपानीको जोहो गदैमा हरेक घरका केही सदस्यको दिन वित्ने गर्दथ्यो । विकल्प केही थिएन । नजिकमा मुहान थिएनन् । अलि टाढाबाट खानेपानी ल्याउन बजेटको अभाव त छदैथियो मुहान क्षेत्रका बासिन्दाले अनुमति दिदैन्थे । दुखजिलो गरेर गुजरा चलाइरहेका विष्णेचौरवासीका लागि डिप बोरिङबाट गाँउमै पानी आएपछि स्थानिय दंग छन् । खानेपानीका साथै सिंचाई समेत हुने भएपछि उनीहरु निकै खुसी भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटले चालु आर्थिक बर्षको बजेटबाट डिप बोरिङ गरेर पानी पुरयाईदिएपछि काकाकुल विष्णेचौरवासी निकै उत्साहित भएका छन् । कार्यालयले ३५ लाख रुपैया यो आयोजनाका लागि खर्चेको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । एक सय २० मिटर गहिरो स्थानबाट पाइप जडान गरेर डिप बोरिङ प्रविधिको प्रयोग गरेर पानी निकालिएको उनले बताए । खेतीयोग्य जमिनमा पानी नहुँदा समस्या भएको देखेपछि सिंचाई आयोजनाको स्वीकृति गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । उनले भने–‘सिंचाईका साथै खानेपानीमा समेत आयोजनाले सहयोग गरेको छ । आयोजना सफल भएकोमा हामी पनि खुसी छौ ।’

बोरिङ गरेर निकालिएको पानी संकलनका लागि गाँउमा रिजर्भ ट्याङकी बनाउँदै स्थानिय तस्वीर राजेन्द्र कार्की

विद्युतको माध्यामबाट हरेक दिन एक लाख लिटर सम्म पानी निकाल्न सकिने बताइएको छ । बोरिङ गरेर निकालिएको पानी संकलनका लागि गाँउमा रिजर्भ ट्याङकी समेत निर्माण गरिएको छ । उक्त आयोजनाबाट त्यस गाँउका ३७ परिवारलाई खानेपानीको समेत सहजता भएको छ । भने करीव ३५ हेक्टर जमिन सिंचित हुनेछ । अव घर घरमा करेसावारी हुनेछ । शौचालयमा पानीको अभाव टरेको छ भने सरसफाईमा समेत सहजता आएको स्थानिय दत्तबहादुर बस्नेतले बताए । उनले भने ‘गाँउमा पानी आएपछि हामी निकै खुसी छौ । हामीलाई निकै समस्या छ । हाम्रो समस्या भगवानले नै देखेर समाधान गरिदिएको जस्तो लाग्छ ।’

विष्णेचौरमा रैथाने अन्नबालीका साथै तरकारी र फलफुल खेतीको समेत निकै सम्भावना गरेको छ । सडकको पहुँचमा समेत रहेको त्यो गाँउमा विभिन्न किसिमका तरकारी, आँप, लिची, केरा, कागती लगायतका फलफुल लगाएर निर्यात गरि आम्दानी बढाउन सकिने प्रसस्त संभावना रहेको कृषि विकास कार्यालय जाजरकोटका योजना तथा तथ्यांक शाखा प्रमुख एवं सुचना अधिकारी टोपबहादुर नेपालीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad