सुचित्र सागर श्रेष्ठ
जाजरकोट बिगत दुई हप्ता अघि हामी चारजना साथीहरू ९विचित्र, सुरज, जेनिस र म० जाजरकोटमा ट्रेकिङ अनि विशेष गरि पर्यटनको सम्भावना के(कस्तो रहेको छ त भनेर बुझ्न र जाजरकोटका कुना(कन्दरामा लुकेर रहेका ठाउँहरूको खोज तथा अन्वेषणका गरि यसको प्रचार गर्नका लागि भनेर हामी बारेकोट गाउँपालिका(४ जिरीस्थित ठाकुरजी, साईकुवाँरी भन्ने ठाउँमा पुगेका थियौँ। लगभग हामी चारदिनको कडा ट्रेक पछि उक्त ठाउँमा पुगेका थियौँ।
पहिलो दिनमा हामी खलङ्गाबाट धनराशि, दोस्रो दिन धनराशिबाट दह, तेस्रो दिन दहबाट पाटनको फेदमा रहेको जङ्गलमा र चौथो दिन चाहिँ ठाकुरजी, साईकुवाँरी पुगेका थियौँ। हामी ट्रेकिङका लागि भनेर गएको हुनाले सुरु दिनदेखि नै हिडेर गयौँ। हाम्रो यो पहिलो पटक यति लामो पैदल यात्रा भएको कारण हिँड्नलाई केही गाह्रो त अवश्य भयो। तर यात्राका क्रममा हामीलाई विभिन्न नयाँ(नयाँ सुन्दर वस्ती, ठाउँ, मान्छे अनि प्रकृतिसँग भलाकुसारी गर्ने मौका मिल्यो। सुन्दर खोलानाला, हरियो वन, सफा अनि स्वच्छ वातावरण, निर्मल मनका धनी मान्छेहरू देख्ने सुअवसर मिल्यो। र यसै कारणले हाम्रा सारा शारीरिक कष्ट र थकान हराएर गएको आभाष भयो। हामी सबैमा एकदम धेरै जोश, जाँगर र उत्साह थियो किनभने हामी सबै पहिलो पटक यो ठाउँमा गई रहेका थियौँ। हामीले यात्रा गर्दा चाहिने खाने कुरा र अरू सामग्रीहरू साथमा लिएर गएका थियौँ। तर नयाँ ठाउँ भएकोले हामीलाई हाम्रो गन्तव्य सम्म पुग्ने बाटो थाहा थिएन। त्यसैले हामीले ठाउँठाउँमा मान्छेहरूलाई सोध्दै यात्रालाई अघि बढायौँ। बारेकोटको लाग्ना भन्ने ठाउँसम्म पुग्न त सहजै भयो तर त्योभन्दा माथि एकदम घना जङ्गल अनि त्यो भन्दामाथि पुरै नाङ्गो पाटन भएको कारण हामी चारजनालाई अघि बढ्न कठिन हुने सम्भावना भयो र हामीले त्यहाँबाट बाटो देखाउन सहयोग गर्ने गाइड लिने निर्णय गर्यौँ।
हामीले त्यहीँ बारेकोट, ढोटाचौरका एक वनपाले दाई, हरिलाई लिएर गयौँ। उहाँले हामीलाई बाटोमा सबै ठाउँको जानकारी दिँदै, अन्य सहयोग गर्दै ठाकुरजी, साईकुवाँरी पाटनसम्म पुर्याएर फर्काउनु भयो। लाग्नाबाट अघि बढ्दा दिनभरी पानी पर्यो र हामीलाई मनमा ठुलै तनाव थियो कि यदि राति पनि यस्तै पानी पर्यो भने त मरिन्छ भन्ने किनभने हामीसँग टेन्टको व्यवस्था पनि थिएन र त्यो जङ्गलमा बास बस्ने ठाउँ पनि थिएन। तर हाम्रो भाग्यले साथ दिएर त्यो राती भने पानी परेन। र हामी सबैजना मिलेर दाउरा, काठको मुढाहरु खोजेर रातभर आगो बालेर, तापेर बस्यौँ अनि रुखका स्याउलाहरु भाँचेर भुइँमा ओछ्यायौँ। त्यो रात जसोतसो काटेर अर्को बिहानै पाटनको बाटोतिर उकालो लाग्यौँ। जताततै नाङ्गो पाटन थियो र हिँड्ने बाटो एकदम भिरालो र कठिन थियो। यदि झुक्किएर लडियो भने पनि कति तल पुगिन्छ भन्ने अनुमान गर्न पनि गाह्रो थियो। भिरालो बाटो अनि त्यसमा पनि अक्सिजन नपाइने पाटन, हामीमध्ये कसैलाई वा सबैलाई लेक लाग्छ कि भन्ने डर थियो तर कसैलाई लागेन। हिँड्दै जाँदा शुरूमा शङ्ख दह भेटियो र त्यो दह निकै स्वच्छ, निश्चल अनि विशाल थियो। पाटनमा बास बस्ने ठाउँ पनि नभएको र रातमा आगो ताप्नलाई दाउरा पनि नहुने सम्भावना भए पछि हामी शङ्क दहबाट नै फर्किने सोचेका थियौँ तर त्यहीँ ठाउँमा हामीले ठाकुरजी, साईकुवाँरीमा मन्दिर बनाउन जाने मान्छे भेट्यौँ। उहाँहरूले हामीलाई ठाकुरजी, साईकुवाँरीमा बास बस्नलाई दुई कोठे धर्मशाला छ अनि त्यहाँ अहिले अरु काम गर्ने मान्छेहरू पनि हुनुहुन्छ भने पछि हामी हाम्रो गन्तव्यमा नै पुग्ने निर्णय गर्यौँ र अघि बढ्यौँ।

बाटोमा हामीले कुकुर दह, सुँगुर दह आदि दहहरु हेर्ने अवसर पायौँ। यात्राको क्रममा हामीलाई बाटोमा भेटिएका ति दाइहरूले देउडा गीत गाएर यात्रालाई अझ रमाइलो नि शोभायमान बनाउनु भयो। शङ्क दहबाट केही घण्टा हिँडेपछि हामी हाम्रो गन्तव्य ठाकुरजी, साईकुवाँरीमा पुग्यौँ। सुन्दर साईकुवाँरी ताल, ठाकुरजी गाथको पहाड, निर्माणाधीण मन्दिर, दुई कोठे धर्मशाला र हिउँले ढाकिएका पाटन देख्यौँ। हामी सबैजना गन्तव्यसम्म पुगेर त्यति सुन्दर दृश्य हेर्न पाउँदा र अझ त्यहाँ गाँस, वास, कपास पाएर निकै हर्षित अनि कृतज्ञ थियौँ। केही छिन हामी त्यहाँ विश्राम गर्यौ र फेरि त्यहाँभन्दा आधा घण्टा टाढा रहेको विष्ट ताल हेर्न गयौँ। सुरज र विचित्र थकित भएर उनीहरू त्यहीँ बसे अनि जेनिस, हरि दाइ, दुईजना स्थानीय र म चाहिँ विष्ट ताल पुगेर, दृश्यावलोकन गरेर फेरि ठाकुरजी, साईकुवाँरीको धर्मशालामा नै फर्क्यौँ। हामीलाई त्यहाँ मन्दिर निर्माण समितिका अध्यक्ष रवि रावत अंकल, सचिव गोपाल चलाउने अंकलले गाँस, वास सबै दिनुभयो र रातीमा एकछिन देउडा भाका पनि गाउनुभयो। हामीले त्यस क्षेत्रका बारेमा पनि केही कुराकानी गर्यौँ र सुत्यौँ। उहाँहरूलाई पनि हामी हृदयदेखि नै विशेष धन्यवाद र कृतज्ञता व्यक्त गर्दैछौँ।
हिँड्दै जाँदा बरेकोटको लाग्ना भन्ने ठाउँसम्म मा प्रायः होटल पसलहरु पाउँछौं तर त्यो भन्दा माथि होटल पसलहरु नभएका कारण केही अफ्ठ्यारो पार्न सक्छ त्यसैले आफू सँग त्यहाँ पुग्दा र फर्कँदा चाहिने खानेकुराहरू हुन जरुरी छ। हामीले खान बस्नलाई होटल हरु त पाउँछौं तर अलि व्यवस्थित पाउन गाह्रो छ, केही व्यवस्थित भयो भने सजिलो हुनसक्छ । दोकान पसलहरु पनि प्रमुख प्रमुख ठाउँ मा मात्र हुनेहुँदा केही गार्हो हुन्छ त्यसैले ड्राई फूड हरु आफूसँग भएको राम्रो हुन्छ। बारेकोट पाटनको बाटो निकै जोखिम र कष्टकर भएको हुनाले जानु भन्दा अगाडि आफू शाररिक मानसिक रूपमा नै तयारी गरेर जान पर्ने हुन्छ। लेक लाग्ने, श्वास बढ्ने हुनसक्छ आफू सचेत हुन जरुरी छ र त्यही किसिमको तयारी पनि हुनपर्छ।

अर्को दिन बिहानै हामी चिया खाएर अनि उहाँहरू सबैजनासँग विदा मागेर घर फर्किन बाटो लाग्यौँ। फर्किदा हामी भिरको बाटो नभएर गाई(भैँसी हिँड्ने बाटोबाट फर्क्यौँ। त्यो दिन हामी ठाकुरजी, साईकुवाँरीबाट लिम्सा आई पुग्यौँ र त्यहीँ वास बस्यौँ। हामीलाई त्यहाँ वास र खानाको सहयोग गर्ने बारेकोट गाउँपालिकाका कृषि प्राविधिक नबराज पुनलाई पनि विशेष आभार प्रकट गर्दैछौँ। अर्को दिन त्यहाँबाट समाईला आएर मेरो बाबाको मामाघरमा वास बस्यौँ। फेरि अर्को दिन त्यहाँबाट ट्याक्टरमा नावलीसम्म आयौँ र सोही दिन त्यसपछि हिँडेर घर पुग्यौँ। यसरी रमाइलो गर्दै, नयाँ ठाउँ र मान्छे भेट्दै, नयाँ अनुभव बटुल्दै हामी सकुशल घरसम्म पुग्यौँ। हामीले हाम्रो यात्रामा अनेकौं सम्भावना बोकेर बसेका तर उचित प्रचारप्रसार र विकासको अभावमा परि ओझेलमा परेका ठाउँहरू देख्दा मनमा कता कता चस्को पस्यो। प्राकृतिक सम्पदाले भरिपूर्ण भएका तर शिक्षा, स्वास्थ्य अनि संचारजस्ता मुख्य सुविधाहरूबाट वन्चित थिए यात्रामा देखिएका, भेटिएका प्रायः सबै गाउँ(ठाउँहरू। यदि हामी सबै मिलेर जाजरकोटको पर्यटन विकासका लागि सडक र सञ्चारको सुविधा उपलब्ध गराउन सक्यौँ र जिल्लालाई सवल र सक्षम बनाउन सम्बन्धित निकायले त्यहाँको सडक को स्तर उन्नती र खान बस्नको लागि व्यवस्था का निम्ति पहल हुन् निकै जरुरी छ जसको कारणले घुम्न जाने यात्री हरुलाई सजिलो हुन्छ। पाटनको बाटोलाई मानिस हिँड्न सहज हुने पैदल मार्ग जरुरी छ।
तस्वीरहरु सुचित्रसागर श्रेष्ठ