राजेन्द्र कार्की । जाजरकोट
जिल्ला सदरमुकाम खलंगा स्थित राममन्दिर देखि ठाँटीबजार जोड्ने सडक निर्माणको काम भैरहेको छ । पानी परेको बेला पहिरो जाने डर र सिमेन्ट बगाउने डरले त्रिपाल टाँगेरै भएपनि काम भैरहेको छ ।
रातदिन नभनी सडक आयोजना सक्न उपभोक्ता समितिलाई हतार भैरहेको देखिन्छ । पुर्वाधार विकास कार्यालयबाट असारको पहिलो साता उपभोक्ता समिति मार्फत काम भैरहेको छ । २० लाख रुपैयाको यो आयोजनाको काम सकेर २५ भित्र भुक्तानी लिइसक्नु पर्ने प्रावधान छ । उपभोक्ता समितिका अध्यक्ष निर्वाचन कार्की भन्छन् ‘पानी परेर काम नै हुन दिएको छैन । समय घर्किरहेको छ । केही दिन भित्र काम नसके बजेट फ्रिज हुन्छ । मेसिनरी पर्खालमा सिमेन्ट लगाउनु पर्ने र पानी आउने वित्तिकै बगाउने भएकोले त्रिपाल टाँगेर भएपनि काम गरिरहेका छौ ।’
भेरी नगरपालिका ४ गैरीखालीमा मञ्च तथा पार्क निर्माणको काम पनि दुइ साता यता तिव्र गतिमा भैरहेको छ । पुर्वाधार विकास कार्यालयको यो आयोजना पनि ढिलो गरि बजेट आएको र छिटै काम सम्पन्न गर्नुपर्ने भएकोले उपभोक्ता समितिलाई काम गर्न भ्याइनभ्याइ छ । यी केही प्रतिनिधीमुलक विकास आयोजना हुन् । पुर्वाधार विकास कार्यालयका साथै, खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय, सडक डिभिजन कार्यालय र विभिन्न पालिकाहरुका विकास निर्माणका कामहरु सक्न भ्याइनभ्याइ छ । पुँजीगत तर्फको बजेट २५ असार सम्म सक्नु पर्ने प्राबधान छ । जसका कारण पनि यतिवेला त्रिपाल टाँगेरै भएपनि काम भैरहेका छन् भेरी नगरपालिका ३ ठाँटीका वीरप्रकाश रोकायले भने ‘असारे विकास न पानीले छेकेको छ विकास न कोरोना महामारीले नै ।’
बजेट समयमै आएको भएपनि सम्झौता ढिलो गर्ने, सम्झौता गरेपनि काम शुरु नगर्ने तर असार महिना नै कुर्ने विगतको अभ्यास र परम्परा अहिले पनि दोहरिएको छ । यस बर्ष झन लकडाउनले काम गर्न सकेनौ भनेर बाहना बनाउन सजिलो भएको स्थानियको भनाई छ । असार कुर्ने, हतार हतारमा काम गर्ने, कामको गुणस्तर कायम नगर्ने र मिलेमतोमा भुक्तानी लिने प्रबृत्ति यसपालि पनि दोहरियो अधिकारकर्मी केदारबहादुर शाहले भने ‘असारमै हतार हतारमा काम गर्ने र विल मिलाउने प्रबृत्ती बषौ देखि चलिरहेको छ । यस बर्ष पनि यस कुराले निरन्तरता पायो । अहिले हतारमा जोजरले खनेका सडक र अन्य विकास निर्माणका काम बर्षाको भेल सँग बगेर जाने गर्दछ । बजेट बालुवामा पानी हाले सरह हुन्छ । यो प्रबृत्तिको अन्त्य हुन जरुरी छ ।’
आर्थिक ऐन तथा आर्थिक नियमावली अनुसार अवको केही दिनमै सरकारी बजेटको पुजीगत तर्फको बजेट खर्च गरिसक्नु पर्छ । कामको अन्तिम मुल्यांकन गराएर रकम भुक्तानी लिई सक्नु पर्छ । काम सम्पन्न हुन नसकेर भुक्तानी लिन नसके उक्त रकम फ्रिज हुन्छ । त्यही भएर धेरै उपभोक्ता र निर्माण ब्यवसायीले दिनरात काम गरिरहेका छन् । सवै विकास आयोजनाहरु यतिवेलै भैरहेकाले सरकारी कार्यालयले सवै विकास आयोजनाको अनुगमण गर्न सकिरहेका छैनन् । अनुगमण गर्न नभ्याएपछि भुक्तानी दिदा कार्यालयले आयोजना सम्पन्न भएको तस्वीर माग्ने गरेका छन् । कोही उपभोक्ता समिति आयोजनाको अन्तिम काम सम्पन्न गर्ने ध्याउन्नमा छन् भने केही उपभोक्ता र निर्माण ब्यवसायी विल मिलाउन ब्यस्त रहेका छन् । असारमा बजेट फ्रिज हुने भएकोले सवैको लक्ष्य असारमै हुने भएकोले पनि यतिवेला कार्यालयमा निकै चाप बढेको छ । हाकिम र लेखापालले अफिस टाइम भन्दा अघिपछि र विदाको समयमा पनि काम गर्नुपर्ने बाध्यता रहेको एक कार्यालय प्रमुखले बताए ।
ब्यवस्था परिवर्तन भएपनि काम गराईएको शैली र ढाँचामा परिवर्तन हुन नसकेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । कतिपय कार्यालयमा बजेट नै ढिलो आउने गरेको र कतिपय कार्यालय र उपभोक्ता समिति बजेट आएर पहिले नै सम्झौता गरेपनि असार नै कुर्ने प्रबृत्ति कायमै छ । यो मोडेलको विकासले हामी कसैलाई फाइदा गदैन । सवै मिलेर राम्रो गरौ भन्दा पनि सवै मिलेर कमाऔ भन्ने प्रबृत्ति देखियो उनले भने ‘असारे विकासले न कामको गुणस्तर कायम हुन्छ । न अनियमितता नै रोकिन्छ ।’ आधा भन्दा बढी बजेट असारमै सकिने र भुक्तानी पनि यतिवेलै हुने भएकोले बैकमा निकै भीडभाड हुने गरेको छ ।