अक्सिजन प्लान्ट निर्माण नगर्ने सप्लायर्स कारवाहीमा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट अस्पतालमा जडान गर्ने भनिएको अक्सिजन प्लान्ट निर्धारित समय विति सक्दा पनि जडान नभएपछि ठेकेदार कम्पनीलाई कारवाही गरिएको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठ्मान्डौलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ । सप्लायर्सको फार्मलाई कालोसुचीमा राख्नका लागि खरीद अनुगमण कार्यालय काठमान्डौं सिफारिस गरिएको छ ।

४५ दिन भित्र अर्थात जेठ १५ गते भित्र अक्सिजन प्लान्ट जडान गर्ने ठेक्का सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिएपनि काम गर्न नसकेपछि सप्लायर्सलाई कालो सुचीमा राखेर धरौती जफत गरि ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएकोे छ ।

bhumi-sanrakshyan

सप्लायर्सले म्याद सकिनु भन्दा एक दिन अघि अर्थात गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समयका लागि माग गरेको थियो । कार्यालयले पटक पटक गरेर उक्त म्याद पनि थप गर्यो । थपिएको १५ दिन अर्थात जेठ मसान्त सम्म पनि काम नगरेपछि तपाईको सप्लायर्सलाई किन कारवाही नगर्ने भनेर शुरुमा ७२ घण्टे स्पष्टिकरण र त्यसपछि २४ घण्टे स्पष्टिकरण सोधिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीले बताए । स्पष्टिकरण चित्त बुझ्दो नआएपछि कारवाही गरिएको उनले बताए ।

ठेक्का सम्झौता तोडिए सँगै सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्ट ठेक्का सम्झौता गर्दा धरौटी राखेको दुई लाख ९१ हजार चार सय तीस रुपैया जफत भएको स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीले बताए । उनले बारम्बार ताकेता गर्दा पनि सप्लायर्सले अक्सिजन प्लान्ट स्थापना गर्न नसकेपछि ठेक्का सम्झौता तोडेर कारवाही गरिएको बताए ।

पहिलेको तुलनामा कोभिडका अक्सिजन दिनु पर्ने विरामी घटदै गएका छन् तर जिल्लामा सिलिन्डर भर्न मिल्ने गरि स्थापना गर्न थालिएको अक्सिजन प्लान्ट जडान ढिलाईले कोभिडका विरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले बताए । उनले भने–‘अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिन्डर नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । सिलिन्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या छ । जिल्लामै अक्सिजन प्लान्ट भएको भए उपचारमा निकै सहज हुने थियो ।’

अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढ्दै गएकोले काम गर्न असहज अवस्था आएको बताए । कार्यालयका अनुसार चैत्रको अन्तिम साता करीव ३६ लाख रुपैयामा ४५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसार उनले जेठ १५ भित्र काम सक्नु पर्ने थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक बर्षको शुरु भएको केही महिनामै बजेट आईपुगेको भएपनि टेण्डर खोल्न ढिलाइ गर्दा समस्या भएकोे हो । सप्लायर्स कारवाहीमा परे सँगै अक्सिजन प्लान्ट स्थापना अलपत्र परेको छ । पुनः टेन्डर गरेर अक्सिजन प्लान्ट स्थापनाका लागि नयाँ प्रक्रिया थालनी गर्ने कार्यालयले जनाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya