राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन् । प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन् । घरपालुवा गाइ, भैसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्य सात जना गत जेठ ३१ गते देखि सम्पर्क विहिन भएका थिए । जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेका थिए । उद्धार गरिएकाहरु पाँच दिन देखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर रहेको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए । उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट तल घरतिर झार्ने काम भैरहेको थापाले बताए ।
प्रहरीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्य चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना चार दिन देखि सम्पर्क विहिन भएका थिए । जिल्ला प्रहरी प्रमुख थापाका अनुसार कुशे गाँउपालिका ८ औलरिजाका ३५ बर्षिय डिलबहादुर खड्का, २५ बर्षिय विक्रम खड्का, २८ बर्षिय चन्द्रा खड्का, १८ बर्षिय भविन्द्र खड्का, १२ बर्षिय भीमबहादुर खड्का, १७ बर्षिय धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का ४० बर्षिय कृष्ण रोकाय सकुशल फेला परेका हुन् । हराइरहेका २२ गाइ, ५० बाख्रा र १० भैसी भने अझै फेला पर्न सकेका छैनन् ।