राजेन्द्र कार्की । जाजरकोट
भेरी नदीमा डुवेर पश्चिम रुकुमकी एक बालिकाको मंगलवार मृत्यु भएको छ । उनकी दिदि नदीमा बेपत्ता भएकी छन् । एक किशोर घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका १२ दुरनेटाका अम्मर डाँगीकी ११ बर्षिय छोरी गीताको नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोट प्रहरीका अनुसार उनकी दिदि दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ बर्षिय रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदि बहिनी समेत बगेका थिए ।
गिता र रामबहादुरलाई तत्काल स्थानियले उद्धार गरेपनि उपचारको क्रममा गिताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको भेरी नगरपालिका १ कालेगाँउका सहदेव बस्नेतले बताए ।