टोलटोलमा संक्रमित खोज्दै स्वास्थ्यकर्मी
राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्यकर्मीले टोल टोलमा गएर संक्रमित खोज्न थालेका छन् । त्यसरी पत्ता लागेका संक्रमितलाई भने मोवाइलवाटै परामर्श सेवा दिन थालेका छन् । नगरपालिका भित्रका धेरै जसो सक्रिय संक्रमित होम आइसोलेशनमा छन् ।
भेरी नगरपालिकाको नगर स्वास्थ्य शाखाले कन्ट्याक ट्रेसिङ्ग टिम (सिआइसिटी) बनाएर टोल टोलमा गएर संक्रमित खोज्ने, परामर्श दिने र परिक्षण गर्ने काम गरिरहेको छ । नगर स्वास्थ्य शाखाका यज्ञनाथ गौतमको नेतृत्वमा रहेको ६ जनाको उक्त टिममा परिक्षणका लागि तालिम प्राप्त ल्याव टेक्निसियन र तीन जना पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको छ । टोलीले वडाध्यक्ष, हेल्थपोष्ट र मासिका सँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ्ग द्धारा संकास्पदको परिक्षण गर्ने, जनचेतनामुलक परामर्श दिने काम गरिरहेको टीम लिडर यज्ञनाथ गौतमले बताए ।
उनले होम आइसोलेशनमा रहेका सवै संक्रमितको मोवाइल नम्बर लिएर मोवाइलवाटै परामर्श सेवा दिइरहेको बताए ।
धेरै ज्वरो आए के गर्ने, अक्सिजनको मात्रा घटे के गर्ने, स्वास फेर्न गाह्रो भए के गर्ने ? लगायतका कुराहरुका साथै तातो पानी खाने, झोलिलो र ताकतिलो खानेकुरा खान पनि सल्लाह दिने गरेको गौतमले बताए । संक्रमितलाई आकस्मिक सेवाका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएका छौ गौतमले भने –‘मोवाइलवाटै भएपनि संक्रमितको सम्पर्कमै रहेको र निगरानी गरिरहेका छौ । साथै गाँउघरमै गएर संकास्पदको पिसिआर र एन्टिजेन परिक्षण पनि गरिरहेका छौ ।’
विवाह, पुजा, जुवातासले पनि संक्रमण बढाइरहेको छ । मानिसहरु अहिले पनि लापरवाही गरिरहेका छन् । घरमै बस्न र मास्क लगाउन आग्रह गरेका छौ तर मानिसहरुको अटेरिपनाले गर्दा संक्रमण थप बल्झिरहेको उनको भनाइ छ । उनले नगरपालिका भित्रका १३ वडा मध्य १२ वडाका २० टोलमा परिक्षण गरिएको र वडा नम्बर २ मात्र बाँकी रहेको बताए । नयाँ भेरियन्ट सहित दोस्रो चरणमा कोरोना फैलिएपछि भेरी नगरपालिकामा करीव आठ सय जनाको पिसिआर र एन्टिजेन परिक्षण गरिएको छ । त्यस मध्य तीन सय बढीमा संक्रमण देखिएको स्वास्थ्यकर्मी गौतमले बताए । भेरी नगरपालिकाको वडा नम्बर ४ कि एक महिलाको कोरोना संक्रमणका कारण गत साता ज्यान गएपछि नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय भएको छ भने स्थानियमा त्रसित भएका छन् ।