राजेन्द्र कार्की । जाजरकोट
कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै नलगाड नगरपालिकाले मातहतका सवै सेवा प्रवाह बन्द गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणबाट नलगाड नगरपालिका उच्च जोखिममा रहेकोले विहिवार देखि जेठ ३ गते सम्म नगरपालिकाको कार्यालय र मातहतका वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह सवै बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका २० जना कर्मचारीमा गरिएको एन्टिजेन परिक्षणबाट ९ जनामा पोजेटिभ देखिएको र कोरोना संक्रमणकै कारण एक वडा सदस्यको मृत्यु भएपछि पाँच दिनका लागि सार्वजनिक सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले बताए । सरकारले केही कर्मचारी उपस्थित भएर अत्यावश्यक सेवा संचालन गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार काम नभएपनि सवै सरकारी कार्यालय खुलै छन् तर नलगाडले जोखिम बढेको भन्दै पाँच दिनका लागि मातहतका सवै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।