April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

किन हुन्छ जाजरकोटमा बर्षेनी लुकिछिपी अफिम खेती ??

राजेन्द्र कार्की । जाजरकोट

गत चैत्रको अन्तिम साता प्रहरीले नलगाड नगरपालिका २ नहकुलीमा चार रोपनी, नलगाड ३ काँक्रामेला तथा डिमनिमा ३४ रोपनी र नलगाड २ देखि वडा नम्बर ६ सम्मको विभिन्न स्थानमा ७१ रोपनी गरी एक सय नौ रोपनी जग्गामा रहेको अवैध अफिम खेती नष्ट गर्यो ।

त्यस्तै बैशाखको पहिलो साता भेरी नगरपालिका २ डिंगा भन्ने स्थानमा २ धुर जग्गामा, नलगाड नगरपालिका–८ मंसिरी तथा गुरासेमा ७ रोपनीमा, नलगाड न.पा.–०१ पुवाडाडामा अन्दाजी एक रोपनीमा र नलगाड –९ ताप्रचौर तथा नलगाड –१० को विभिन्न स्थानमा अन्दाजी १० कठ्ठामा रहेको अवैध अफिम नष्ट गरेको गर्यो । यस अवधीमा प्रहरीले करीव एक सय १७ रोपनी, १० कठ्ठा र दुई धुर जग्गामा अवैध रुपमा लगाईएको अफिम खेती नष्ट गरेको हो ।

गत बर्ष पनि प्रहरीले नलगाड नगरपालिकाका विभिन्न स्थानमा ठुलो परिमाणमा लगाईएको अफिम नष्ट गरेको थियो । विगत पाँच बर्ष देखि प्रहरीले यसरी नै अवैध रुपमा लगाईएको अफिम खेती नष्ट गदै आएको छ । प्रहरीले चैत्र बैशाखमै अफिम विरुद्ध विशेष अप्रेशन गर्ने गरेको छ । गत बर्ष प्रहरीले नलगाड ३ का मनबहादुर विष्ट र जुम्लाका हरिचन्द्र डाँगीलाई अवैध अफिम सहित पक्राउ गर्यो । उनीहरुको मुद्धा अदालतमा विचाराधिन छ । दुवै जना पुर्पक्षका लागि थुनामा छन् । बारेकोट नायकवाडाका कुशबहादुर महतारा र निमबहादुर सिंह अफिम कारोवारमा संलग्न भएको भन्दै जिल्ला कारागारमा सजाय भोगिरहेका छन् । २०७३ मंसिरमा भएको जिल्ला अदालतको फैसलाले दुवैलाई १६ बर्ष कैद र ८ लाख रुपैया जरिवाना तोकेको छ । प्रहरीको बढ्दो निगरानी, कडा कानुनका बाबजुत पनि किन मानिसहरु अफिम खेती र कारोवारीमा संलग्न भैरहेका छन् त ? । प्रहरी समेत अचम्ममा परेको छ ।

जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जाजरकोटमा लुकीछिपी अवैध अफिम खेती गर्ने गरेको भएपनि केही बर्ष यता प्रहरी सक्रियताले गर्दा अफिम खेती गर्नेहरु निरुत्साहित हुँदै गएको बताए । पाँच बर्ष देखि जाजरकोट प्रहरीले लगातार अफिम नष्ट गर्ने कार्य गरिहेको छ उनले भने ‘तस्करले ठाँउ फेरेर जंगलको विचमा नदेखिने ठाँउ, मानिसको आवतजावत नहुने, खर्क, गोठ लगायतका ठाँउमा खेती गर्ने गरेको पाईएको छ । ।’ पाँच बर्ष अघि ठुलो परिणाममा अफिम खेती हुने गरेपनि प्रहरी सक्रियताले घट्दै गएको उनले बताए ।
नलगाड नगरपालिकाको खौला, मंसिरी, रुप, भगवति चाउलेचौर लगाएतका ठाउँहरुमा केहि बर्ष पहिला देखि प्रत्येक बर्ष नेपाल प्रहरीले अफिम खेती नष्ट गर्दै आएको भएपनि स्थानियले लुकीछिपी लगाउन छोडेका छैनन् । प्रहरीको पहुँच नपुग्ने गाँउमा अफिम खेती हुने गरेको छ ।

तस्करले नै जिल्लाका विभिन्न ठाँउमा अफिमको विउ दिएर खेती गर्न लगाउने गरेको स्थानियको भनाइ छ । हरेक बर्ष ठाँउ फेरेर खेती हुने गरेको छ । अफिमको कच्चा पदार्थ जाजरकोटबाट अवैध तरिकाले नेपालका शहरी क्षेत्र लगायत भारतमा समेत निर्यात हुने गरेको छ । अफिमलाई नेपाल सरकारले लागु औषधको रुपमा प्रतिबन्धित गरेको छ ।

थोरै लगानीमा धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएका हुन । एक रोपनी पाखोमा लगाएको खेतीबाट एक देखि दुई किलोसम्म अफिम उत्पादन हुने छ । असोजमा यसको खेती हुने र बैशाख जेठमा निकाल्ने गरिन्छ । बषौ देखि अफिम तथा गाँजा खेती गदै आएका स्थानियले नियमक निकायले वास्ता नगर्दा अफिमबाट दश लाखसम्म आम्दानी गर्ने गरेका थिए । स्थानियलाई तस्करले नै अफिमको विउ तथा अग्रिम रुपैया दिएर खेती गर्न लगाउने गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीले अफिम किन्ने र बेच्ने व्यक्तिहरुको पहिचान र कार्वाही गर्ने, अफिम लगाउन सक्ने स्थानहरुको सुचना संकलन गरी फडानी गर्ने, अफिम लगाउने जग्गा, वनजंगल वा व्यक्तीहरुको पहिचान गरी आवश्यक कानुनी कार्वाही गर्ने, तयार गरी राखेको अफिमको सुचना संकलन गरी पक्राउ गर्ने, जनचेतना मुलक कार्यक्रम गर्ने र जनप्रतिनिधिहरु लाई जिम्मेवार बनाउने गरी कार्ययोजना बनाएको प्रहरी प्रमुख थापाले बताए । प्रहरी पहुच भन्दा टाढा लगाउनु, उच्च पहाडी भागमा लगाएर धेरै पैसा कमाउन सक्ने, व्यापारी गाँउ घरमा नै किन्न आउने सम्भावना,कतिपयलाई कानुनि ज्ञानको कमीका कारण ब्यवसाय तथा खेतीको रुपमा बुझेको र गरीवीले गर्दा पनि अफिम खेती नियन्त्रणमा चुनौति देखिएको उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad