राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा कोरोना संक्रमितको संख्या एक सय २६ पुगेको छ । शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या एक सय २६ पुगेको हो । जिल्लाका अन्य पालिकाको रिपोर्ट आइनपुगेको भएपनि संक्रमितको ग्राफ उकालो लाग्न थालेपछि जिल्लावासी त्रसित बनेका छन् । पछिल्लो चरणमा संक्रमित भएका मध्य एक जना निको भएर घर फर्किएका छन् ।
शुक्रवार जिल्ला अस्पताल खलंगा र छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा गरिएको एन्टीजेन परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएको हो । जिल्ला अस्पतालमा ६५ जनालाई गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको हो । त्यसैगरी छेडागाड नगरपालिकामा शुक्रबार २९ जनामा गरिएको परिक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जनाएका छन् । कोरोना पुष्टी भएका ९ जना मध्ये ५ जना नगरपालिकाका कर्मचारी, ३ जना शिक्षक र एक जना सर्बसाधारण रहेको उनले बताए ।
भेरी नगरपालिका र छेडागाड नगरपालिकाले कोरानोको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न आईतबारदेखि एक हप्ताको लागि स्वास्थ्य, सरसफाई, फोहर व्यवस्थापन कार्य बाहेकका अन्य सम्पूर्ण दैनिक सेवा प्रवाहका कामलाई बन्द गरिएको सुचना सार्वजनिक गरेका छन् । विभिन्न चरणमा गरिएको एन्टिजेन परिक्षणबाट स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, जनप्रतिनिधी, स्थानिय नागरिक लगायतका संक्रमित भएका छन् । कोरोना विरुद्धको खोप लगाएकालाई पनि संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले बताए ।
यसैविच, विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शनिवार राति १२ बजे देखि लागु हुने गरि एक साताका लागि जाजरकोटमा लकडाउन (निषेधाज्ञा ) हुने भएको छ ।
जिल्ला कोभिड ब्यवस्थापन केन्द्र, सर्वदलिय सवैपक्षिय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्य नजर गदै कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोकग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम आगामी बैशाख १८ गते राती १२ बजे देखि बैशाख २५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा द्धारा जारी आदेशमा उल्लेख गरिएको छ । तर तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने विहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्न दिईने उल्लेख छ । साथै एटिएम सेवा, औषधी पसल, एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् ।