प्रवाह संवाददता । जाजरकोट
जाजरकोट जिल्लामै पहिलो पटक कुखुरा दाना उत्पादन छेडागाड नगरपालिकावाट शुरु भएको छ । हातेमालो लघु उद्यमी समुहले छेडागाड वडा नं. ११ सालटाकुरामा कुखुराको दाना उत्पादन गर्ने उद्योग स्थापना गरी उत्पादन शुरु गरेको हो ।
पन्ध्र लाख लागतमा जडान गरिएको उक्त दाना उत्पादन गर्ने उद्योग जिल्लाकै पहिलो भएको पशु अस्पताल तथा पशुसेवा कार्यलय जाजरकोटका प्रमुख जर बहादुर भक्रीले बताउनु भयो । प्रति घण्टा ५ क्वीन्टल उत्पादन क्षमता भएको उक्त उद्योगले यस जिल्लाको आवश्यक दाना पुर्ति गर्ने सक्ने प्रविधिक मोति ढकालले बताउनु भयो ।
छेडागाड नगरपालिकामा मात्र ४५ जनाले फर्म दर्ता गरि कुखुरा पालन ब्यवसाय गरेको र कुखुरा दाना दैनिक ३ क्वीन्टल खपत रहेको पशुपक्षी विकास शाखा छेडागाडका प्रविधिक वालकृष्ण बस्नेतले बताउनु भयो । जाजरकोट जिल्लामा नै कुखुरा दाना उत्पादन गर्ने उद्योग अभावमा जिल्लाका कुखुरा ब्यवसायीले छिमेकी जिल्ला सुर्खेत, दाङ्ग तथा बाँकेवाट आयात गर्दै आइरहेको पशुपक्षी विकास शाखा छेडागाडले जनाएको छ ।
हातेमालो लघु उद्यमी समुहले शुरु गरेको उक्ट उद्योगले कुशे, जुनीचादे तथा शिवालय गाउपालिकालाई उद्योगवाट नै आपुर्ति गर्न सक्ने र सदरमुकाम खलंङ्गामा डिपो स्थापना गरि आवश्यक कुखुरा दाना पुर्ति गर्ने योजना रहको समुहका अध्यक्ष विमल थापाले बताउनु भयो । सेभ द चिल्ड्रेनको सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा दाना उद्योग स्थापना गरिएको कार्यकारी निर्देशक छवी पन्तले बताउनु भयो ।
यस क्षेत्रको कुखुरा दानाको मागलाई परिपुर्ति गर्ने बताइएको उक्त उद्योग पुर्व सांसद रत्न प्रसाद शर्मा र नगर प्रमुख लालबहादुर महताराले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । यस उद्योगको अवस्था हेरी नगरपालिकावाट पनि सहयोग गरिने नगर प्रमुख महताराले बताउनु भयो ।