प्रवाह संवाददाता । जाजरकोट
द्धन्द रहित कक्षाकोठा निर्माण गर्ने र कक्षा कोठामा सिर्जनात्मक वातावरण बनाउने उद्देश्यले जाजरकोटको भेरी नगरपालिकाका विभिन्न १० विद्यालयका शिक्षकलाई विद्यालयमा द्धन्द रहित कक्षा कोठा तालिम प्रदान गरिएको छ ।
विश्व शिक्षा र सिविन नेपालको साझेदारी र भेरी नगरपालिका शिक्षा शाखाको आयोजनामा द्धन्द रहित कक्षाकोठा सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको हो । तालिमबाट १० विद्यालयका एक सय बढी शिक्षक कर्मचारीको सहभागिता रहेको थियो । भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुन, विश्व शिक्षाका भेषबहादुर चौधरी, सिविन नेपालका सन्तोष विक र सुमित्रा विकले तालिमको सहजीकरण गरेका थिए । सिविन नेपालका सन्तोष विकले कक्षाकोठा भयरहित बनाई शिक्षण सिकाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताए ।
तालिममा शिक्षकहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए । त्रिभुवन माध्यमिक विद्यालय खलंगाका शिक्षक सत्यनारायण मण्डलले शिक्षकहरु नयाँ प्रविधि र नयाँ पुस्ता सँग समायोजन हुन नसक्दा विद्यार्थी र शिक्षक विच द्धन्द बढिरहेको धारणा राखे । विद्यालयमा नजानिदो तरीकाले विद्यार्थी माथि शारीरिक, मानसिक, यौनिक र वेवास्ता लगायतका हिंसा बढिरहेकोले यसलाई रोक्न विद्यालय, शिक्षक, अभिभावक र सरोकारवालाले ध्यान दिनु पर्ने सिविन नेपालकी सुमित्रा विकले बताईन । तालिमले केही हद सम्म भएपनि विद्यालयका कक्षा कोठा द्धन्दरहित र हिंसा रहित बनाउन सहयोग पुरयाउने उनको भनाई छ ।