March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

पहुँचवालालाई पटक पटक अनुदान

प्रवाह संवाददाता । जाजरकोट

कृषि विकास कार्यालय जाजरकोटमा चालु आर्थिक बर्ष २०७७÷०७८ को लागि कर्णाली प्रदेश सरकार तथा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १२ करोड ७६ लाख २० हजार अनुदान रकम प्राप्त भएको छ । उक्त अनुदान रकमबाट उन्नत नर्सरी, हिउदे फलफुल नर्सरी, चक्लाबन्दी, प्राङ्गारीक मल प्रर्वदन, मकै, किवी, मौरी लगाएत क्षेत्रमा लगानी गरि विपन्न बर्गको आर्थिक उपार्जन बृद्धि गर्ने लक्ष्य छ । नेता देखि स्थानीय जनप्रतिनिधी र पहुँच भएकाले पटक पटक अनुदान रकम लिइरहेका छन् तर बास्तविक किसान भने अनुदान पाउनबाट सधै बन्चित हुने गरेका छन् ।

बारेकोट गाउँपालिका ८, लैखमका कल्दर खत्रीले दुई पटक प्रस्ताव पेश गर्दा पनि कृषि विकास कार्यालयबाट कुनै पनि सरकारी अनुदान रकम पाउन सकेनन । बारेकोट ६ धुमाका देवबहादुर चलाउने गत वर्ष र यस वर्ष गरी दुई पटक कृषि अनुदानका लागि प्रस्ताव पेश गर्दा पनि कृषि विकास कार्यालयबाट अनुदान रकम पाउन सकेनन । खत्री र चलाउने मात्र होइनन् दुर्गमका स्थानीय कृषकहरुले सरकारी अनुदान रकम पाएका छैनन । पहुँचको भरमा सरकारी अनुदान रकम बाँडिएको आरोप कल्दर खत्रीको छ ।

 

जाजरकोट जिल्ला समन्वय प्रमुख रहेका मनबहादुर रावल नलगाड ५ कालिमाटीमा रहेको पञ्चासे बहुउद्ेशिय सहकारी संस्थाका अध्यक्ष हुन् । उनले मौरी केन्द्र स्थापनाको लागि ३५ लाख अनुदानको रकम लिएका छन् । त्यसैगरी जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष रहेकी शिबा आर्चायले जुनीचाँदे महिला बहुउद्ेशिय सहकारी संस्थाकाको नाउमा आयआर्जन गर्ने गरी ५ लाख रकम अनुदान लिएकी छन । रावल र आर्चाय त केहि प्रतिनिधी उदाहरण मात्र हुन । यसैगरी अनुदान रकम पाउनेमा पहुँच भएका व्यक्तीहरुले मात्र अनुदान पाएको दलबहादुर खत्रीले बताउनु भयो । कार्यालयमा ४ सय बढीको प्रस्ताव पेश गरेकोमा १ सय ३५ जनाले यो कार्याक्रम पाएका छन् । विपन्न समुदायको जीवनस्तरमा परिवर्तन गर्ने भनी रकम आउछ, पाउँनु पर्ने व्यक्तीहरुले यस्तो कार्यक्रम पाउँदैनन् सुशासनकर्मी बद्री पन्तले भने ‘नेता, टाँठाबाँठा र नेताका आसेपासेले पटक पटक अनुदान रकम लिने गरेका छन् । खास किसानले अनुदान कहिल्यै पाउँदैनन् । कहाँ आवेदन हाल्ने थाहै पाउँदैनन् ।’

 

जिल्ला कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमख गणेशबहादुर अधिकारीले अनुदान रकम लक्षीत समुह तथा सहकारीहरुले पाएको दावी गरे पनि कार्यालयले दोहोर्याइ, तेहर्याइ अनुदान वितरण गरेको किसानको गुनासो छ । एक पटक अनुदान लिइ सकेकाले फेरी पनि अनुदान रकम पाएका छन् । दुर्गम भन्दा सदरमुकाम वरीपरी कार्यक्रम बाँडिएको छ । बास्तविक किसानहरु यो कार्याक्रमबाट बन्चित भएका छन् नागरिक अगुवा जनक केसीको आरोप छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad