राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नगर अस्पतालको एक समारोहका विच छेडागाडको मनघाटमा उद्घाटन गरेका छन् । भाडाको घरमा सेवा शुरु गरिएको हो । पक्की संरचना तयार नहुँदा सम्म सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायी रुपमा संरचना निर्माण गरि कामको सुरु गरिएको छ ।
संघीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुने नगरप्रमुख लालबहादुर महताराले बताए । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । हाल सदरमुकाम स्थित जिल्ला अस्पतालका चिकित्सकलाई काजमा राखेर सेवा सुरु गरिएको नगरप्रमुख महताराले बताए । नगरअस्पतालमा एक जना मेडिकल अधिकृत , २ जना स्टाफ नर्स सहित १५ जना स्वास्थ्यकर्मी कार्यरत रहने छन । ल्याव र एक्सरे सेवा सहितको चिकित्सकको सेवा प्रदान गरिने छ । हाल ३ सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम सुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।
१५ मङ्सिरमा सवै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतको भनाई छ । देशै भरीमा छेडागाड नगरपालिकाले पहिलो पटक नगरअस्पताल उद्घाटन गरेर सवैलाई उछिनेको छ । १५ शैयाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए । ३९ वटा १५ शैयाको कर्णालीमा स्वास्थ्य संस्था निर्माण गर्न लागिएको छ ।