पिसिआर परिक्षणका लागि प्रदेश सरकारले पठाएका किटले काम नगरेपछि फिर्ता

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको चौरजहारी स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा स्थापना गरिएको कोरोना पिसिआर परीक्षण प्रयोगशालामा कर्णाली प्रदेश सरकारले पठाएका किटले काम नगरेपछि फिर्ता पठाईएको छ ।

 

प्रदेश सरकार अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले कोरोना  पिसिआर परिक्षणका लागि पठाएका पाँच सय एक्सट्रयाक्सन किटले काम नगरेपछि फिर्ता पठाईएको प्रयोगशालाका प्राविधिक प्रमुख निरञ्जन सत्यालले बताए । यस अघि निर्देशनालयले पठाएका किटले कामै नगरेपछि जुम्ला र दैलेख प्रयोगशालाबाट पनि फिर्ता गरिएको थियो । निकै कमसल खालको कम्पनीले उत्पादन गरेका कारण ति किटले काम नगरेको सत्यालले बताए ।

 

सुर्खेतमा परीक्षणका लागि पठाईएका स्वावको चाप भएको र एक साता सम्म पनि पालो नआएको तर किट नहुँदा चौरजहारी ल्याव ठप्प जस्तै भएको छ । पश्चिम रुकुम, जाजरकोट र सल्यानको चौरजहारीमा परिक्षण गर्नको लागि आवश्यक उपकरणको ब्यवस्था गर्न सकिएको भए नतिजा पनि छिटो आउने र सुर्खेतमा पनि चाप नहुँने सत्यालको भनाई छ । उनले यस क्षेत्रका नेताहरुले विशेष पहल गर्नु पर्ने बताए ।

 

पिसिआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छ । सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको उनको भनाई छ । कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ । किट खराब भएको नभई पिसिआर मेशिन र किट म्याच नभएको हुन सक्ने निर्देशनालयकी निर्देशक रीता भण्डारीले बताईन । चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशक भण्डारीले बताइन् । यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ । मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पिसीआर मेशिनसँग किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उनले जानकारी दिइन् ।

आर्थिक अभावले पीसिआर परिक्षण प्रयोगशाला सञ्चालमा समस्यामा, किट अभाव

चौरजहारी नगरपालिका वडा नं. २ मा स्थापना गरिएको पीसीआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि समस्या भएको हो । चौरजहारी नगरपालिकाले रु १ करोड ५८ लाख रुपैयाँको लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेसिन सञ्चालनमा ल्याएको थियो । जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ७१ लाख ६० हजार रुपैयाँ नगरपालिकाले  आफैले लगानी गरेको थियो ।

 

मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताए ।  चौरजहारीमा जडान गरिएको मेसिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका झण्डै तीन हजार भन्दा बढी स्वाब परीक्षण गरेको छ । दैनिक ३ लाख रुपैयाँ खर्च भइरहेकाले ल्याब आर्थिक समस्याले शुरुमै थलिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad