राजेन्द्र कार्की
जाजरकोट ११ भदौ
जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आउन बाँकी रहेकोले थप संक्रमण फैलिन नदिन अस्पतालको आकस्मिक बाहेकका सवै सेवा अनिश्चिततकालका लागि बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए ।
संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । प्रदेश अस्पताल पशुपंक्षि अन्वेषण प्रयोगशाला सुर्खेतमा पिसिआर परिक्षणका लागि स्वास्थ्य कार्यालय मातहतका सवै स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरि पठाईएको थियो । तर सुर्खेतमा धेरै स्वाव थन्किएकाले रिपोर्ट आउन ढिलाई भएको छ । स्वास्थ्यकर्मीहरु धेरैको सम्पर्कमा आउने र विरामीको समेत उपचार गर्न खटिनुपर्ने भएकोले छिटो परिक्षणको ब्यवस्था मिलाई दिन अनुरोध गरेका छौ डा. पुनले भने ‘कहाँबाट कसरी चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलियो सो बारे अनुसन्धान गरिरहेका छौ । उनीहरुको सम्पर्कमा आएका सवैको पिसिआर परिक्षण गर्न पहल भैरहेको छ ।’
केही दिन अघि मात्र स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैकका कर्मचारी र स्थानिय गरि १९ जनामा कोरोना संक्रमण भएको थियो । संक्रमण बढ्दै गएपछि सदमुकाम खलंगा मंगलवार देखि एक हप्ताका लागि निशेधाज्ञा जारी गरिएको छ ।


