दिपेन्द्र शर्मा । सुर्खेत
पाँच लाखभन्दा बढी मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व मानव समाजमा त्रास छाएको छ । वैज्ञानिक विकासका अकल्पनीय प्रगति हासिल गरेको मानिस यस्ता भाइरसमाथि भने अहिलेसम्म विजय प्राप्त गर्न सकेको छैन । पृथ्वी नै सिध्याउने अत्यन्तै घातक शस्त्र अस्त्र र परमाणु वम बनाउने होडवाजी र त्यसको चेतावनीमा त्रसित रहने विश्व यतिबेला भने एउटा भाइरससँग नराम्ररी थलिएको छ । यसले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछि त्यसभन्दा पनि ठूलो क्षति पु¥याइसकेको छ । यो विश्वमा अकल्पनीय नयाँ खतरा बनेर आएको छ । विश्व यतिबेला एकखालको बन्दी जस्तै भएको छ र यो भाइरसमाथि पूर्णतः विजय प्राप्त गर्दासम्म विश्व अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । प्रकृतिमाथि मानिसले निरन्तर गरिरहेको अनियन्त्रित दोहन र औद्योगिक गतिविधिले पृथ्वीको आयु नस्ट गर्दै गएको चर्चा भइरहँदा कोरोना भाइरसले भविष्यमा मानव जीवनमाथि कल्पना नै नगरेका अरु खतराहरु आउन सक्ने संकेत पनि गरेको छ ।
समग्र जनजीवन नै प्रभावित गरेको कोरोनाले विश्व सञ्चार जगत पनि नराम्ररी प्रभावित भएको छ । कोरोनाले अहिलेसम्म विश्वमा करिव दुई दर्जन पत्रकारको ज्यान लिइसकेको छ । अन्तराष्ट्रिय पत्रकार महासंघले दिएको जानकारी अनुसार ल्याटिन अमेरिका र क्यारिवियन क्षेत्रमा मात्र १३ जना पत्रकारको कोरोना महामारीबाट ज्यान गएको छ । विश्वका ठूला ठूला सञ्चारमाध्यमहरु बन्द भएका छन् । नेपाली सञ्चारमाध्यममा पनि यस महामारीको असर नराम्ररी परेको छ । अधिकांश प्रिन्ट मिडियाहरु बन्द भएका छन् भने विद्युतीय सञ्चारमाध्यम (रेडियो टेलिभिजन) तथा अनलाइन मिडियाहरु मुस्किलले सञ्चालन भइरहेका छन् । तर, लकडाउन बढ्दै जाँदा ती सञ्चारमाध्यमहरु पनि कहिलेसम्म प्रकाशन, प्रशारण होलान भन्न सकिदैन । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको प्रभाव कर्णाली प्रदेशका सञ्चारमाध्यम र सञ्चारकर्मीमा पनि परेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका छापा माध्यमहरु धेरै प्रभावित भएका छन् । कोरोनाको त्रास र लकडाउनको प्रभावसँगै जुध्दै सञ्चारकर्मीहरु अहिलेसम्म समाचार सम्प्रेषण भने गरिरहेका छन् ।
कोरोना कालमा मिडियाको अवस्था
कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने प्राय सबै पत्रपत्रिकाहरु प्रभावित भए जिल्ला शाखाको रिपोर्ट अनुसार झण्डै ३३ वटा पत्रिकाहरु कर्णाली प्रदेशमा लकडाउनका कारण वन्द भएका थिए । भने लकडाउनको अवधीमा सुर्खेतवाट प्रकाशित युगआह्वान दैनिक पत्रिका भने नियमित प्रकाशन भएको थियो । अहिले पछिल्लो समयमा प्रदेश राजधानी लगाएतका केही जिल्लामा भने पत्रपत्रिकाहरु क्रमश प्रकाशन हुदै गएका छन । सुर्खेतका केही दैनिक पत्रिकाहरु अहिले जसोतसो प्रकाशीत भइरहेका छन । प्रदेशका १० जिल्लामा रहेका रेडियोहरु, केवल टेलिभिजन र यस प्रदेशका १० जिल्लामा कार्यालय रही सञ्चालन हुने अनलाइनहरु मुस्किलले सञ्चालन भइरहेका छन् ।
कर्णाली प्रदेशका सबै पत्रकारहरु लकडाउनको प्रभावमा परेका छन् । लकडाउनको अवधीमा सहजरुपमा रिर्पोटिङ गर्न पत्रकारहरुलाई निकै चुनौती बनेको छ । सम्बन्धित मिडियाको पत्रकार परिचयपत्रका आधारमा नभई सूचना विभागको पासका आधारमा मात्र समाचार संकलन गर्नुपर्ने बाध्यता र सूचना विभागको पास लिन निकै महंगो र झन्झटिलो हुने स्थितिका बीचमा पनि कर्णालीका पत्रकारहरुले नियमितरुपमा आफ्नो धर्म निर्वाह गर्दै आएका छन । एकातिर कोरोनाको त्रास, अर्कोतिर प्रशासनको बुझाइका अन्तरका कारण भइरहने अवरोध कर्णालीका पत्रकारहरुले सामना गर्नुपर्यो । यस बीचमा सुर्खेत लगायतका केही जिल्लामा पत्रकारहरुले प्रहरीको दुव्र्यवहार भोग्नु पर्यो । प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या छ । त्यसैगरी पत्रकारहरुले सवारी साधनको समस्या, मास्क, सेनिटाइजर, ग्लोव लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरेको छ ।
कोरोनामा हाम्रो पहल
कोरोना भाइरस (कोभिड १९) कारण कर्णाली प्रदेशका संञ्चार माध्यम र संञ्चारकर्मीहरुलाई पारेको असर तथा प्रभावका वारेमा प्रदेश समितिका तर्फवाट सबैभन्दा पहिला कर्णाली प्रदेश सरकार र नेपाल पत्रकार महाँसघ केन्द्रीय समितिलाई कर्णाली प्रदेशको अवस्था जानकारी गराएका थियौं । सबै जिल्ला शाखालाई जिल्लामा कार्यरत सञ्चारकर्मी तथा मिडियाहरुको अवस्थाको अध्ययन गर्न लगाई त्यसका आधारमा तयार पारिएको अध्ययन रिपोर्टका आधारमा कर्णालीमा कोरोना भाइरसले मिडिया र मिडियाकर्मीमा पारेको प्रभाव तथा असरको जानकारी गराइएको थियो । त्यसमा थुप्रै समस्याहरुका साथै आगामी दिनमा रोकथामका लागि गर्न सकिने प्रयासलाई पनि उजागर गरिएको थियो । उक्त रिर्पोटले सबैको ध्यान कर्णालीमा केन्द्रित गर्यो ।
कोरोनाको जोखिममा पनि पत्रकारिता गरिरहेका पत्रकारहरुलाई केन्द्रित गरी प्रदेश समितिले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा प्रदेशका विभिन्न जिल्लाका १३५ जना पत्रकारको पिसिआर परिक्षण गरिसकेको छ । बाँकी थप पत्रकारको परिक्षण गर्ने कार्य क्रम पनि जारी छ ।
प्रदेश समितिको पहलमा कर्णालीमा कार्यरत अधिकांश पत्रकारहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्था गर्न हामी सफल भएका छौ । संविधान सभा सदस्य तथा समाजसेवी राजिव विक्रम शाह र कोपिला भ्याली सेवा समाज सुर्खेतले प्रदेश समिति मार्फत कर्णालीका जोखिममा पत्रकारिता गरिरहेका पत्रकारका लागि मास्क, सेनिटाइजर र पञ्जा लगायतका सामग्रीहरु प्रदान गर्न गरेको थियो । प्रदेश समितिलाई प्राप्त सामाग्रीहरु प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु मार्फत हुम्ला वाहेक सबै जिल्ला शाखाहरुलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीको अभाव र जोखिमका वावजुत पनि कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारहरुले आआफ्नो क्षेत्रबाट रिपोर्टिङ गर्दै आएका छन् । लकडाउनका बीचमा नेपाल पत्रकार महासंघ सुर्खेतसहित केही जिल्ला शाखाहरुद्वारा विभिन्न क्षेत्रको समन्वयमा पत्रकारहरुका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर र पञ्जा लगायतका सामग्रीहरु वितरण गरिएको छ । लकडाउनमा पनि फिल्डमा कार्यरत सबै पत्रकारहरुलाई नपुग भएको हुँदा सामाग्रीहरु प्रयाप्त रुपमा वितरण गरिनु जरुरी छ । यसैबीच दैलेख शाखाले पत्रकारका लागि कोरोना जोखिम विमाको काम पनि अगाडि बढाएको छ ।
समाजलाई निरन्तर समाचार सम्प्रेषण गरी आम नागरिकमा जागरण फैलाउने, सुसूचित गर्ने र राज्यलाई जिम्मेवार बनाउने मिडियाको अहम दायित्व महामारीका बीच पनि रोकिएको छैन । मिडिया र मिडियाकर्मीहरुको भूमिका जस्तोसुकै संकटकाबीच पनि अपेक्षा गरिन्छ । त्यही अपेक्षा अनुरुप कर्णाली प्रदेश सरकार र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले कर्णालीमा कार्यरत मिडिया र मिडियाकर्मीहरुका लागि राहत कार्यक्रम संचालन गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले कर्णालीका मिडिया तथा मिडियाकर्मीका लागि राहत वितरणका लागि मापदण्ड तयार गरी प्रदेश सरकारलाई बुझाएको थियो । त्यो कार्य प्रदेश सरकारले अहिले निर्णय प्रक्रियामा अगाडि बढाएको छ । आफू पीडामा परेर पनि नागरिकको सूचनाको भोक मेटाउन काम गर्ने मिडियाकर्मीहरुका लागि प्रदेश समितिले निम्नानुसारको मापदण्ड तयार गरेको छ ।
१.कोरोना भाइरसको असरले सबैभन्दा बढी असर गरेका मिडिया र मिडियाकर्मीहरुको सूची तयार गरी बढी समस्या भएकाहरुलाई प्राथमिकतामा दिने ।
२. नेपाल पत्रकार महासंघको सदस्य र महासंघ कर्णाली प्रदेश समितिले सिफारिस गरेका क्रियाशील पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु यो राहत कार्यक्रम प्राप्त गर्न सक्नेछन् ।
३. कर्णाली प्रदेशमा दर्ता ठेगाना रहेका, सञ्चार मन्त्रालयमा दर्ता भई हालसम्म नविकरण भएका रेडियो, टेलिभिजन, प्रेस काउन्सील नेपालमा सूचीकृत भएका अनलाइन मिडिया तथा कानुनी प्रावधानहरु पूरा गरी प्रेस काउन्सिल नेपालमा वर्गिकरणमा समावेश भएका पत्रपत्रिकाहरुमध्ये कर्णालीका समाचारहरु प्राथमिकताका साथ सम्प्रेषण गरिरहेका मिडियाहरु यो कार्यक्रममा समेटिनेछन् । कानुन अनुरुप दर्ता भई हालै सञ्चालन भएका र जिम्मेवार मिडियाको भूमिका निर्वाह गरिरहेका मिडियाहरु समेत यसमा समावेश गर्न सकिनेछ ।
४. कोरोना भाइरसका कारण गरिएको लकडाउनको निर्णयभन्दा अगाडि नै अन्य कारणले बन्द भएका मिडियाहरु यसमा समावेश हुने छैनन् ।
राहतका लागि गरिएको प्रस्ताव
क्र.स. विवरण प्रस्तावित रकम संख्या कैफियत
१ दैनिक पत्रिका ३० हजार २१ वटा
२ साप्ताहिक पत्रिका १५ हजार १०÷१२ वटा
३ अनलाइन २० हजार २०÷२५
४ रेडियो ५० हजार ४० वटा
५ केवुल टिभि ५० हजार ५ वटा
जम्मा ९५ वटा
६ पत्रकारहरु ५–१५ हजार २५÷३० जना प्रभावितहरु मात्र हुनेछन ।
कर्णालीका मिडिया र मिडियाकर्मीका समस्याहरु
१) मिडियाहरु बन्द भएपछि मिडियाकर्मीहरुमा आर्थिक समस्या पर्दछ । उचित पारिश्रमिक नपाउने र भनेको समयमा पारिश्रमिक नपाउने गरेको नेपाली मिडिया क्षेत्रमा अब मिडिया नै बन्द भएपछि झन ठूलो समस्या देखिने निश्चित छ । त्यसको प्रभाव बहुआयामिक हुन्छ । त्यस्तै अब सञ्चारमाध्यमहरुको आम्दानी पनि ह्वात्तै घट्ने देखिन्छ । मिडियाहरुको आम्दानीको स्रोत विज्ञापन बजार हो । तर, सबै क्षेत्रहरु बन्द रहेका कारण विज्ञापनबाट हुने आम्दानी बन्द भएको छ । अहिलेसम्म सञ्चालनमा रहेका रेडियो र अनलाइनहरु पनि यही अवस्थामा लामो समय सञ्चालन भइरहनसक्ने अवस्थामा देखिदैनन । यस्तोबेला सबैभन्दा महत्वपूर्ण कुरा मिडियालाई बन्द हुन नदिई आफ्नो भूमिकामा उत्रने परिस्थिति निर्माण गर्नु हो । त्यसका लागि राज्यले जिम्मेवार मिडिया र मिडियाकर्मीका लागि विशेष सुविधा प्रदान गर्न आवश्यक छ । आफ्नो स्वास्थ्य, परिवार र जीवनकै प्रवाह नगरी खट्ने पत्रकारहरुका लागि स्वास्थ्य उपचार, सञ्चारका साधनहरुको व्यवस्था तथा अन्य अनुदानका कार्यक्रम विकास गर्नका लागि सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।
२) यस्तो अवस्थामा सञ्चारमाध्यम श्रमजीवीहरुलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत महशुल लगायतका अन्य खर्च समेत धान्न नसक्ने अवस्थामा रहने स्थिति छैन । त्यसका लागि टेलिफोन, विद्युत महशुल र इन्टरनेटमा विशेष सहुलियत प्रदान गर्न तथा महशुल छुट गर्नका लागी थप पहल आवश्यक छ ।
३) राष्ट्रिय तथा कतिपय स्थानीय मिडियामा कार्यरत पत्रकारहरु सदरमुकामहरुमा भाडामा बस्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरुको घरभाडा मिनाहा गर्ने वातावरण तयार गर्न तथा आश्रित परिवारका लागि राहतका प्याकेज उपलब्ध गराउन पनि जरुरी छ ।
४) संकटकालीन स्थिति तथा यस्तै विपतमा सबैभन्दा बढी फेक न्यूजले ठूलो अफवाह फैलाउने र नागरिकमा त्रास उत्पन्न गर्ने स्थिति बन्दछ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई हरेक सूचनाहरुलाई आफैले भेरिफाई गरेर मात्र प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्दछौ । साथै महामारीले कसैलाई चिन्दैन । यस्तो बेला पत्रकारहरुले आफ्नो स्वास्थ्यको पूर्ण सुरक्षाको ख्याल गरी आफू सुरक्षित रहेर पत्रकारिताको धर्म निर्वाह गर्न जरुरी देखिएकोछ ।
आमसञ्चारका माध्यमहरु विनाको आजको समाज अन्धकार खाडलमा रहन्छ । त्यसैले आमसञ्चारका माध्यम नागरिकका दृष्टि र आवाज हुन् । नागरिकलाई निरन्तर सुसूचित, जागरुक र सचेत बनाउने तथा राज्यका निकायलाई सतर्क गराउँदै जवाफदेही बनाउन मिडियाले भूमिका निर्वाह गर्दै आएका छन् । विविध सीमा र समस्याका वावजुद नेपाली मिडियाले सामाजिक अन्तरक्रिया तथा परिवर्तनको प्रवाहलाई गतिवान बनाउने काम गर्दै आएका छन् । नागरिक सचेत र बलिया नभईकन राज्य बलियो हुनसक्दैन । राज्यले नागरिकलाई सचेत, जागरुक र सक्रिय बनाउनका लागि सबैभन्दा पहिला मिडियाको विकासमा ध्यान दिनु जरुरी हुन्छ । मिडिया पुर्णतः व्यवसायिक, दक्ष र सबल नभइकन आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैनन । त्यसैले राज्यले निरन्तर मिडियाको विकासमा ध्यान दिनु जरुरी छ । विगतको भुकम्पको विपत, महामारी तथा अहिलेको लकडाउनका बेला नागरिकलाई सूचना सम्प्रेषण गरी अवस्थाको वास्तविक जानकारी दिने लगायतका काममा मिडियाले उल्लेखनीय काम गरेका छन् । राज्यलाई पारदर्शी, जिम्मेवार र सबल बनाउन मिडियाले सदैव एक असल पहरेदारको भूमिका निर्वाह गर्दछन् ।
लेखक नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव हुन ।
साभार -नेपाल पत्रकार महासंघ केन्द्रिय द्धारा प्रकाशित त्रैमासिक प्रकाशन पत्रकारीतामा प्रकाशित गरिएको बाट