प्रवाह संवाददाता
जाजरकोट १२ साउन
जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराको नाममा सोमबार गाली, बेइज्जती र कुटपिट कसुरमा तीन वटा छुट्टा छुट्टै मुद्धा दर्ता गरिएको छ । छेडागाड नगरपालिका वडा नं. ११ औलाकाटियाका दिपाराम जैसी र कालिका जैसीले नगर प्रमुख महताराका नाममा जाजरकोट जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन ।
त्यस्तै जैसी दम्पतिले बालमाध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक कमल राज बस्नेत र सोही विद्यालयका शिक्षक पृथ्वीबहादुर सिंहका नाममा पनि गाली, बेइज्जती र कुटपिट मुद्धा दर्ता भएको छ । नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंहले गत असार २९ गते शिवशक्ति बजारमा गाली तथा वेइज्जती गरी कुटपिट गरेको भन्दै जैसी दम्पतिले अदालतमा उनिहरु विरुद्ध फिराद दर्ता गरेका छन् । फिराद कर्ता कालिकाले मुलकी फौजदारी संहिता २०७४ को दफा १९१ र १९८ को दावी लिई महतारा, बस्नेत र सिंह बिरुद्ध कुटपिट मुद्धा दर्ता गरेकी छन भने दिपारामले सोहि संहिताको दफा ३०५, ३०६ र ३०७ को दावी लिई उनीहरु विरुद्ध गाली र बेइज्जती मुद्धा दर्ता गरेका हुन् ।
छेडागाड ११ शिवशक्ति बजारमा रहेको गौतम् हार्डवयर पसल बन्द गर्न लागेको बेला नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंह उक्त पसलमा आई जथाभावी गालीगलौज तथा अभद्र व्यवहार, बेइज्जती र कुटपिट गरेको दिपारामले दावी गरेका छन् । नगर प्रमुख महताराले बाँया कानमा हानेर रगत समेत निकालेको उनले बताए ।
त्यस्तै महतारा, सिंह र बस्नेतले अपशब्द प्रयोग गरि आफुलाई लछारपछार गर्दै कुटपिट गरेको जैसी दम्पतिले दायर गरेको फिराद पत्रमा उल्लेख गरिएको छ । घाइते भएका जैसी दम्पतीको जाजरकोट अस्पतालमा उपचार नभएपछि नेपालगन्जको अमित मेमोरियल हस्पीटल प्रालि र नेपालगंज मेडिकल कलेजमा उपचार गराएको बताए ।
मुलुकीअपराध संहिता २०७४ अनुसार गाली कसुरमा एक बर्ष सम्म कैद वा १० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय, वेइज्जती कसुरमा २ बर्ष सम्मा कैद वा २० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजाय र कुटपिट कसुरमा ३ बर्ष सम्म कैद वा ३० हजार रुपैयाँ सम्मा जरीवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ । दीपाराम नेपाली काँग्रेसका वडा सभापति पनि हुन् ।
तर नगरप्रमुख महताराले आफ्नो कुकर्म र अपराध ढाकछोप गर्न आफुहरुलाई आरोप लगाएको बताए । विद्यालयको जस्तापाता लुटपाट गर्ने छुट कसैलाई नभएको बताउँदै नगरप्रमुख महताराले आफ्नो निहित स्वार्थ पुरा नभएपछि कुटपिट गरेको नियोजित नाटक गरिएको बताए ।