प्रवाह संवाददाता । जाजरकोट
नेपाली काँग्रेस छेडागाड नगरपालिका वडा नम्बर ११ का सभापति दिपाराम जैसी माथि गरिएको आक्रमण प्रति नेपाल विद्यार्थी संघको गंभिर ध्यानाकर्षण भएको भन्दै घटनाको विरोध गरेको छ । नेविसंघले आक्रमण निन्दनिय, आपत्तिजनक र गैरजिम्मेवार प्रबृत्ति भएको जनाएको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ललित बस्नेत द्धारा जारी विज्ञप्तीमा छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारा, बाल मावि झाप्राका प्रअ कमलराज बस्नेत र सोही विद्यालयका शिक्षक पृवीबहादुर सिंह लगायतका ब्यक्तिहरु मध्यरातमा मदिरा सेवन गरि अनियन्त्रित भई सुनियोजित रुपमा ज्यान मार्ने उद्देश्यका साथ वडा सभापति जैसीको पसलमा गइ आक्रमण गरिनु लोकतान्त्रिक ब्यवस्था र विधिको शासनको उपहासको रुपमा लिएको जनाईएको छ । विज्ञप्तीमा अगाडी भनिएको छ ‘स्थानिय सरकार सवैको सरकार हो । सवैले सरकारको अनुभुति गर्नुपर्नेमा स्वयं नगर प्रमुख मदिरा सेवन गरि आफै गुण्डा शैलीमा अराजक समुहको हुल बाँधेर आक्रमण गर्नु स्थानिय सरकाको लाचारीपनका रुपमा लिएका छौ ।’ आक्रमणबाट वडासभापति जैसीकी श्रीमती कालिका जैसीको समेत हात भाँचिएको जनाईएको छ । प्रहरीको उपस्थितीमा आपराधिक समुहले अर्को ब्यक्तिलाई रक्ताम्मे बनाई मरनासन्न हुने गरि कुट्दा स्वयं प्रहरी माथि हातपात, अपशब्द प्रयोग गरिदा समेत मुक दर्शक भएर हेर्ने प्रहरी प्रशासनको भुमिका प्रति नेविसंघले खेद प्रकट गरेको छ । घटना संलग्नलाई कानुनी कारवाही गर्न माग गदै घटनालाई तोडमोड गरि दोषीलाई उम्काउन खोजिए नेविसंघ सशक्त प्रतिवादमा उत्रिने चेतावनी नेविसंघले दिएको छ ।
नगरप्रमुख माथिको अरोपको खण्डन
नेपाली काँग्रेस तथा उसका भातृ संस्थाहरुले काँग्रेस नेता जैसी माथि भएको साँघातिक हमालाको आरोप नगरप्रमुख महतारा माथि लगाईरहँदा नगरपालिकाले एक विज्ञप्ती प्रकाशित गरि उक्त कुराको खण्डन गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत डोलराज काफ्ले द्धारा हस्ताक्षरित विज्ञप्तीमा बाल मावि झाप्राको विद्यालयको छाना मर्मत गर्नका लागि बजारबाट ल्याएको जस्तापाता स्कुलमा लैजादै गर्दा निज दिपाराम जैसी नेतृत्वको समुहले दिनदाहाडै लुटेर लगेको भनि विद्यालयले इलाका प्र्रहरी कार्यालय वडावनलाई खवर गरेकोले त्यहाँबाट गएको टोली सँगै नगर प्रमुख ज्यु उक्त स्थानमा गई सवैलाई सम्झाई बुझाई गरी उक्त समान लुट्ने समुहलाई आवश्यक कारवाहीका लागि प्रहरी सँग समन्वय गरि आफ्नो निवास फर्किएको जनाईएको छ । विज्ञप्तीमा अगाडी भनिएको छ यस विषयमा लुटपाटमा संलग्न समुहलाई कारवाहीको लागि अनुरोध गदै गर्दा सत्यतथ्य नबुझि नगरप्रमुखको चरित्र हत्या नगर्न हुन सम्बन्धित सवैमा अपिल गरिएको छ । नगरप्रमुख महताराले पनि घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
तर उक्त विज्ञप्ती प्रति पनि नेविसंघले विरोध गरेको छ । नगरपालिकाको लेटरप्याड प्रयोग गरि दिन दाहाडै जाँड सेवन गर्ने ब्यक्तिलाई सालिन ब्यक्तिको उपमा दिई जारी गरिएको विज्ञप्ती प्रति नेविसंघले आपत्ति जनाएको छ ।