राजु लामिछाने रुकुम । रुकुम
गत जेठ १० गतेका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरि भएको घटनाका फरार चार जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएकोे थुनछेक बहस पछि भएको आदेशमा चार जना अभियुक्तलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तादार लक्ष्मण विकले जानकारी दिए । मंगलबार नै जिल्ला अदालतमा हाजिर भएका चार जना अभियुक्तलाई वयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
चौरजहारी नगरपालिका ८ रुकुम पश्चिमका तुलराम घर्ति, लोकेन्द्र घर्ति, सौरभ पुन र डिल्ली घर्तिलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश भएको हो । ५ जना फरारको सूचीमा रहेका मध्ये भिमबहादुर घर्ति असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफै हाजिर भएपछि २८ गतेको बयान र बहसपछि यस अघि नै पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको थियो ।
यो सँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । जसमा २ जना नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राख्ने आदेश भएको थियो । ३ जना साधारण तारिख र १ जना रु. एक लाख धरौटीमा छुटेको जिल्ला आदालत रुकुम पश्चिमले जानकारी दिएको छ ।
जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि जातिय विभेदकै कारण गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका ४का नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, सोही नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ का टीकाराम नेपालीको उक्त घटनामा ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।
संसदीय छानवीन समितीले पनि घटना जातिय विभेदकै कारण भएको र गाँउलेले नियन्त्रणमा लिएर ६ युवाको हत्या गरेको प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।