March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

बारेकोटवासी राहतको पर्खाइमा ःराहत पुरयाउने बेला तथ्यांक संकलनमै अलमल

राजेन्द्र कार्की । जाजरकोट
ठुलो जनधनको क्षति हुने गरि जाजरकोटको बारेकोट गाँउपालिकामा गएको पहिरोमा भएको क्षति र विस्थापितको विवरण पाँच दिन विति सक्दा पनि यकिन हुन सकेको छैन । भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद हुँदा क्षति र विस्थापितको विवरण यकिन हुन नसकेको हो । सरकारी कार्यालयले नै फरक फरक तथ्यांक प्रस्तुत गर्दा विस्थापितलाई राहत वितरणमा समेत समस्या र अन्यौल देखिएको छ ।

गत विहिवार गएको पहिरोमा परि ११ जनाको मृत्युको मृत्यु भएको छ । पहिरोमा पुरिएका एक जना अझै हराईरहेका छन् । बारेकोटकै वडा नम्बर ६ मा धुमा खोलाले दुई जनालाई बेपत्ता बनाएको छ । दुई जना घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । तर पहिरोले कति विस्थापित भए भन्ने बारे स्थानिय प्रशासन, प्रहरी र गाँउपालिकाले फरक फरक तथ्यांक पेश गर्ने गरेका छन् । जिल्ला प्रशासनले दुई सय १३ घर, प्रहरीले तीन सय ७६ घर र गाँउपालिकाले आठ सय ४० घर विस्थापित भएको तथ्यांक पेश गरेका छन् । केही वडाको तथ्यांक अझै आउन बाँकी रहेको गाँउपालिकाले जनाएको छ । विस्थापितको संख्या करीव एक हजार दुई सय बढि हुने अनुमान छ ।

तर स्थानिय प्रशासनले सोमवार सम्म शनिवारकै डाटा दुई सय १३ घर विस्थापित भएको गृहमा पठाएको छ । ठुलो संख्यामा स्थानिय विस्थापित भएको तर स्थानिय प्रशासनले गृह मन्त्रालय प्रहरीले दिएको पुरानै तथ्यांक पेश गर्दा विस्थापितको राहतका लागि सरकार गंभिर हुन नसकेको नेपाली काँग्रेस नेता बेदराज सिंहले बताए । तथ्यांक यकिन नभएपछि घटना भएको पाँच दिन पछि बसेको विपद ब्यवस्थापन समितिको बैठकले तत्काल क्षतिको विवरण संकलन गरि विस्थापित परिवारको एकिन गर्ने र उनीहरुका लागि आवश्यक पर्ने राहत सामग्री ब्यवस्थापनका लागि सरकार सँग माग गर्ने निर्णय गरेको छ । त्यस्तै रेडक्रसबाट तत्काल ७५ परिवारका लागी गैरखाद्य सामग्री पठाउने, खाद्यन्न र त्रिपाल, कम्मल पठाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सञ्चार सम्पर्क विच्छेद भएको र यातायात सेवाको अभावले तथ्यांक संकलनमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पन्तले स्वीकार गरे ।

जिल्ला विपद ब्यवस्थापन समितिको बैठक

विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन् तर सरकारले पठाउन सकेको छैन । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकोप्टरमा केही राहत सामग्री लिएर आएपनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका आठ सय बढी परिवार विस्थापित भएका छन् । तत्काल पाँच सय परिवारलाई त्रिपाल र कम्मलको आवश्यकता छ । केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । तर प्रदेश सरकार र संघिय सरकार गंभिर भएनन् । बारेकोटवासीलाई परेको विपत्तीमा अहिले सम्म सहयोग पाईएन उनले गुनासो गदै  भने ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५÷६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।’

बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ । मन्त्रीहरु, साँसदहरु हेलिकोप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन तर हामीले अहिले सम्म एउटा त्रिपाल र कम्मल समेत पाउन सकेका छैनौ बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भने ‘न खाने खास छ न ओत लाग्ने ठाँउ छ । विद्यालयको चुहिने छाना मुनि रात काट्न विवस छौ ।’
विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । तसर्थ हेलिकोप्टरका माध्यामबाट ढुवानी त्रिपाल, कम्मल र खाद्यन्न पठाउनु पर्छ जिल्ला समन्वय समितिका उपससंयोजक ज्ञानीप्रसाद शर्माले भने ‘सरकारले समयमा ध्यान दिएन भने बारेकोटमा भोकमरी र अर्को महामारी निम्तन सक्छ ।’

पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उनको भनाई छ । उनले ‘हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकार सँग माग गरिन ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad