राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका छन् ।
आइतबार राति नलगाड–३, कैनाबजारबाट घर फर्कने क्रममा खोला तर्न लाग्दा उनी बेपत्ता भएका हुन् । ८ वर्षीय छोरासँग घर फर्कंदै गर्दा खोला तर्ने क्रममा सार्की बेपत्ता भएको प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । पारि झोला राखेर छोरा लिन आउने भन्दै छोरालाई खोला किनारमै छोडेर गएका सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको डिएस्पी श्रेष्ठले बताए ।
बुवालाई खोलाले बगाएको नाबालक छोराले कैनाबजारका स्थानीयलाई जानकारी गराएका थिए । बेपत्ता सार्कीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
यसैवीच झुम्रा खोलामा आएको बाढीले केही दिन अघि करीव दुई सय रोपनी धान खेत बगाएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । गत बर्ष यही खोलाले करीव ८ सय रोपनी धान खेत, पुल, दर्जनौ घट्ट र मिल बगाएको थियो ।


