रोकिएन असारे विकास

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला सदरमुकाम खलंगा स्थित राममन्दिर देखि बाहुनवाडा जोड्ने भित्रि सडक निर्माणका लागी भेरी नगरपालिकाले गत फागुनमै बर्षा निर्माण सेवालाई अमानतमा कामको जिम्मा दिएको थियो । करीव सात लाखको उक्त सडक एक साता अघि मात्र सुरु भएको छ । शुरुमा विवाद भयो त्यसपछि लकडाउन भैहाल्यो काम नै हुन सकेन । बल्ल काम शुरु गरेका छौ निर्माण सेवाका प्रोपराइटर दीपनारायण कार्कीले भने ‘पानी परेर काम नै हुन दिएको छैन । समय घर्किरहेको छ । केही दिन भित्र काम नसके बजेट फ्रिज हुन्छ । सडक बनाउँदा सिमेन्ट लगाउनु पर्ने र पानी आउने वित्तिकै बगाउने भएकोले त्रिपाल टाँगेर भएपनि काम गरिरहेका छौ । जति सक्दो काम सक्ने लक्ष्यमा छौ । ’

कृषि विकास कार्यालयको कृषि सडक कार्यक्रम अन्र्तगत भेरी नगरपालिका ३ कल्यानपुरमा एक हजार पाँच सय मिटर सडक डोजर प्रयोग गरेर केही दिन अघि मात्र उपभोक्ताले खने । १० लाख रुपैयाको लागतमा ट्रयाक खोलिएको भनिएको सडक तलमाथिबाट पहिरो गएपछि गाडी गुड्न मिल्ने अवस्था छैन । पहिरो गएर धान बालीमा क्षति पुरयाईरहेको स्थानियको गुनासो छ ।

साँसद विकास कोषको पुर्वाधार विकास कार्यक्रमबाट भेरी नगरपालिका ३ स्याला देखी जुम्ला सडक खण्ड कोठखोला जोड्नका लागी १० लाख रुपैया विनियोजन भएको थियो । हिउँदमै सम्झौता भएपनि काम असारको पहिलो साता मात्र शुरु गरियो । पानी परिरहेको समयमै डोजरले बाटो खनेपछि सडकको ठाँउ ठाँउमा पहिरो गएको छ । बाटोको ट्याक खोलिएको भनिएपनि केही दिन अघि परेको बर्षातको भेलले उक्त बाटो क्षतविक्षत बनाईदिएको छ । गाडी गुड्न मिल्ने अवस्थामा छैन ।

यी केही प्रतिनिधीमुलक विकास आयोजना हुन् । बजेट समयमै आएको भएपनि सम्झौता ढिलो गर्ने, सम्झौता गरेपनि काम शुरु नगर्ने तर असार महिना नै कुर्ने विगतको अभ्यास र परम्परा अहिले पनि दोहरिएको छ । यस बर्ष झन लकडाउनले काम गर्न सकेनौ भनेर बाहना बनाउन सजिलो भएको स्थानियको भनाई छ । असार कुर्ने, हतार हतारमा काम गर्ने, कामको गुणस्तर कायम नगर्ने र मिलेमतोमा भुक्तानी लिने प्रबृत्ति यसपालि पनि दोहरियो असारशासन क्लव जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले भने ‘असारमै हतार हतारमा काम गर्ने र विल मिलाउने प्रबृत्ती बषौ देखि चलिरहेको छ । यस बर्ष पनि यस कुराले निरन्तरता पायो । अहिले हतारमा जोजरले खनेका सडक र अन्य विकास निर्माणका काम बर्षाको भेल सँग बगेर जाने गर्दछ । बजेट बालुवामा पानी हाले सरह हुन्छ । यो प्रबृत्तिको अन्त्य हुन जरुरी छ ।’

आर्थिक ऐन तथा आर्थिक नियमावली अनुसार अवको केही दिनमै सरकारी बजेटको पुजीगत तर्फको बजेट खर्च गरिसक्नु पर्छ । कामको अन्तिम मुल्यांकन गराएर रकम भुक्तानी लिई सक्नु पर्छ । काम सम्पन्न हुन नसकेर भुक्तानी लिन नसके उक्त रकम फ्रिज हुन्छ । त्यही भएर धेरै उपभोक्ता र निर्माण ब्यवसायीले दिनरात काम गरिरहेका छन् । सवै विकास आयोजनाहरु यतिवेलै भैरहेकाले सरकारी कार्यालयले सवै विकास आयोजनाको अनुगमण गर्न सकिरहेका छैनन् । अनुगमण गर्न नभ्याएपछि भुक्तानी दिदा कार्यालयले आयोजना सम्पन्न भएको तस्वीर माग्ने गरेका छन् । कोही उपभोक्ता समिति आयोजनाको अन्तिम काम सम्पन्न गर्ने ध्याउन्नमा छन् भने केही उपभोक्ता र निर्माण ब्यवसायी विल मिलाउन ब्यस्त रहेका छन् । असारमा बजेट फ्रिज हुने भएकोले सवैको लक्ष्य असारमै हुने भएकोले पनि यतिवेला कार्यालयमा निकै चाप बढेको छ । हामिम र लेखापालले अफिस टाइम भन्दा अघिपछि र विदाको समयमा पनि काम गर्ने गरेका छन् ।
ब्यवस्था परिवर्तन भएपनि काम गराईएको शैली र ढाँचामा परिवर्तन हुन नसकेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । अरु महिना सुतेर बस्ने असारमै काम गर्ने प्रबृत्ति कायमै छ । यो मोडेलको विकासले हामी कसैलाई फाइदा गदैन । सवै मिलेर राम्रो गरौ भन्दा पनि सवै मिलेर कमाऔ भन्ने प्रबृत्ति देखियो उनले भने ‘असारे विकासले न कामको गुणस्तर कायम हुन्छ । न अनियमितता नै रोकिन्छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad