अस्तब्यस्त क्वारेन्टिनमै सकियो करोड

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विद्यालयमा बनाईएका क्वारेन्टाइनमा बस्दा उल्टै संक्रमण फैलन सक्ने र थप सास्ती हुने देखेपछि भेरी नगरपालिका १ का १३ जना गाँउकै एक ओडारमा बसेर १४ दिन विताएर घर फर्किए । सुर्खेतबाट आएको एक समुह पनि जुनीचाँदे ६ को जंगलमा रहेको ओडारमा बसे विद्यालयमा बनाईएको क्वारेन्टाइनमा बसेनन् ।

भेरी र छेडाका विभिन्न विद्यालयका क्वारेन्टाइनबाट केही समय अघि मानिसहरु भाग्न थालेपछि क्वारेन्टाइन सुरक्षाको लागी नेपाली सेना नै परिचालन गर्नु पर्यो । जिल्लाका भेरी, नलगाड र छेडागाडका चार क्वारेन्टाइनमा सेनाले सुरक्षा दियो । छेडागाड र भेरीका विभिन्न क्वारेन्टाइनबाट पटक पटक भागेका ४० जनालाई प्रहरीले पक्राउ गरि पुनः क्वारेन्टाइनमै राख्यो ।

भेरी, शिवालय, छेडागाड र नलगाडमा २३ दिन क्वारेन्टाइनमा बस्दा पनि पिसिआर रिपोर्ट नआएपछि केही क्वारेन्टाइनमा आन्दोलन नै भयो । आन्दोलन थेग्न नसकेपछि उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाईयो । पिसिआरको रिपोर्ट समयमा नआउने र भिटिएमको अभावले अहिले १४ दिन पुगेपछि आरडिटी गरेर घर पठाउने गरिएको छ । तीन हप्ता अघि सम्म जिल्लाभर ३७ ओटा क्वारेन्टाइनमा तीन हजार बढी बसालिएकोमा अहिले घटेर तीन सय ६५ मात्र छन् । २४ क्वारेन्टाइन रित्तै छन् ।

तर यस्तै क्वारेन्टिन ब्यवस्थापन र खानानास्तामा जिल्लाका सात वटै स्थानिय पालिकाले करोड बढी रकम खर्च गरिसकेका छन् । अन्य स्वास्थ्य उपकरण, भिटिएम र आरडिटी खरीदमा पनि उत्तिकै खर्च गरिसकेका छन् । तर अहिले सम्म खर्च विवरण सार्वजनिक गरेका छैनन् । भेरी नगरपालिकाले क्वारेन्टिन ब्यवस्थापनमा गत जेठ मसान्त सम्म गरेको खर्चले पनि सवै पालिकाले करोड बढी खर्च गरिसकेको अनुमान गर्न सकिन्छ । भेरी नगर स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख निशा थापा केसीले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म ब्यवस्थापन खर्चमा १७ लाख ६७ हजार तीन सय ८ रुपैया, खानामा तीन लाख २८ हजार एक सय ५० रुपैया, गाडीभाडा दुई लाख १६ हजार रुपैया, पर्चा पम्पलेट एक लाख ७१ हजार र सरसफाई सामाग्रीमा एक लाख ९७ हजार २० रुपैया गरी २६ लाख ७९ हजार तीन सय २८ रुपैया खर्च भएको छ । असार महिनाको खर्च विवरण आउन बाँकी रहेको छ ।

धेरै पालिकाहरुले कोरोना नियन्त्रण तथा ब्यवस्थापनको नाममा अपारदर्शी तरीकाले ठुलो रकम खर्च गरेकोले उक्त खर्च विवरण सार्वजनिक गर्नु पर्ने आवाज उठ्न थालेको छ । क्वारेन्टाइन ब्यवस्थापनकै नाममा केही कर्मचारी र जनप्रनिधिको मिलेमतोमा अनियमितता समेत भएको आशंका गरिएको छ ।

धेरै क्वारेन्टाइनमा शौचालय अभाव रहेको, खानेपानीको समस्या, लामखुट्टे लाग्ने, पानी चुहिने, भत्किने अवस्थाका भवन, कैदीको जस्तो स्वयमसेवकहरुको ब्यवहारले गर्दा आफुहरुलाई निकै सकस भएको क्वारेन्टाइनमा रहेकाहरुको गुनासो छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad