विवादले शिवालयको गाँउसभा अनिश्चित

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता। जाजरकोट

शिवालय गाँउपालिकाको गत असार १० मा हुनु पर्ने गाँउ सभा हुन सकेन । स्थगित भयो । गाँउपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेन । अध्यक्ष र उपाध्यक्षको विवादका कारण उपाध्यक्ष कुमारी थापा सहित केही वडाध्यक्ष र वडासदस्यले गाँउ सभा बहिष्कार गरेपछि गाँउ सभा स्थगित भयो ।

गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीले गरेका कामकाज प्रति गंभिर असहमति जनाउँदै आएकी उपाध्यक्ष थापाले गाँउ सभा नै बहिष्कार गरेपछि गाँउपालिकाको गाँउ सभा अनिश्चित बनेको हो । कोरोना महामारी नियन्त्रण, क्वारेन्टिन ब्यवस्थापन, गाँउपालिकाका विभिन्न समान खरीद, विकास निर्माण लगायतका कार्यमा ब्यापक अनियमितता भएको भन्दै उपाध्यक्ष थापाले छानवीनको माग गरेकी थिइन । तर अध्यक्ष शाहीले उपाध्यक्षको कुरालाई वेवास्ता गदै वाइपास गरेरै अघि बढ्ने रणनिति लिएपछि विवाद चुलिदै गएको हो ।

गाँउपालिका कार्यान्वय गरिरहेका विभिन्न आयोजना, कार्यक्रम तथा सार्वजनिक खरीद सम्बन्धमा जानकारी लिन खोज्दा अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माले नदिएको उपाध्यक्ष थापाले बताईन । विभिन्न विषयगत शाखामा समान खरीदका बिलभरपाई, भुक्तानी प्रक्रिया आदि विषयमा कर्मचारी सँग जानकारी माग गर्दा पनि उपलब्ध हुन नसकेको उनको भनाई छ ।

कम्प्युटर खरीद, होमपाइप, तारजाली, सोलार, फर्निचर, औषधी, क्यारेन्टाइनका लागी बेडविस्तरा, स्यानिटाइजर, भिटिएम लगायतका खरीद प्रक्रिया पारदर्शी नभएको र क्वारेन्टाइन ब्यवस्थापनमा पनि ब्यापक अनियमितताको आशंकामा वीलभरपाई माग्दा आफुले नपाएको उपाध्यक्ष थापाको आरोप छ । उनले भनिन ‘वील भरपाई नदेखाउँदा झन आशंका बढेको छ । विभिन्न सडक आयोजनाको भुक्तानी दिँदा पनि उपाध्यक्ष नेतृत्वको अनुगमण समितिको सिफारिस विनै मिलेमतोमा रकम भुक्तानी गरिएको छ ।’ गाँउपालिका अध्यक्ष शाही र प्रमुख प्रशासकिय अधिकृत शर्माले आफुलाई वाईपास गरिरहेको उपाध्यक्ष थापाको भनाई छ ।

अध्यक्ष शाही र उपाध्यक्ष थापा दुवै पुर्व एमालेका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका हुन् । एउटै पार्टीका हुँदाहुँदै पनि अध्यक्ष शाही र उपाध्यक्ष थापा विच कुरा मिल्न सकेको छैन । पार्टीले सहमति गराउने प्रयास गरिरहेको छ । उपाध्यक्षलाई प्रतिपक्ष काँग्रेसका वडाध्यक्ष, वडासदस्य र केही नेकपाकै वडासदस्यले साथ दिएका छन् । नेपाली काँग्रेस शिवालय गाँउ इकाई समितिले एक विज्ञप्ती प्रकाशित गरि गाँउपालिका अध्यक्ष शाहीको स्वच्छाचारी प्रबृति रहेको, कोरोना नियन्त्रण र रोकथामका नाममा ब्यापक अनियमितता गरेको, आर्थिक खरीद नियमावली विपरीत समान खरीद गरेको, विभिन्न योजनाको अनियमितता कार्यमा संलग्न रहेको लगायतका आरोप लगाएको छ ।
जनप्रतिनिधीको लडाईले विकास निर्माण लगायत समग्र गाँउपालिकाको समृद्धिमा असर परेको स्थानियको भनाई छ । यस विषयमा गाँउपालिका अध्यक्ष शाही सँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad