राजेन्द्र कार्की । जाजरकोट
लकडाउन हुदैन्थ्यो भने जाजरकोटको बारेकोट गाँउपालिका ३ का मुनबहादुर नेपालीको यतिवेला फुर्तिफार्ति नै बेग्लै हुन्थ्यो । यार्सागुम्बा टिपेर कमाएको पैसा उनको हातमा हुन्थ्यो । घरपरिवारका दैनिक आवश्यकता त टार्थे नै आफुले कमाएको पैसाले लत्ताकपडा किन्नुका साथै केही बचत गरेर राख्थे । त्यही पैसाले बर्षदिन भरको घर खर्च चलाउँथे । तर यस बर्ष उनी घरमै छन् । यार्सा संकलन कार्य खुला होला भन्ने उनमा झिनो आशा थियो । तर यस बर्ष यार्सा संकलन अनुमति नपाएपछि उनी चिन्तामा छन् । उनले भने ‘यार्सा संकलन गरेरै घरखर्च टार्न थालेको धेरै बर्ष भयो । यसपाली यार्सा संकलन गर्न नपाउँदा हाम्रो आम्दानीको स्रोत गुम्यो । न अन्य रोजगारीको अवसर छ । लकडाउनले घरमै थला परेका छौ । आफ्नो खेतीले बर्षदिनमा ६ महिना पुग्दैन । कसरी जहानकेटाकेटी पालौ ।’
बारेकोट गाउँपालिका ४ कि पुष्पा बस्नेत हरेक बर्ष यार्सा संकलन गर्न डोल्पा पुग्थिन । त्यहाँबाट कमाइ गरेर ल्याएको पैसाले पढाइ खर्च चलाउँदै आएकी थिइन । घरमा कमाइ गर्ने कोही नभएपछि उनी यार्साको कमाइबाटै प्लस टु ( १२ कक्षा ) पास गरिन । अहिले स्नातक अध्ययनरत छन् । यसपालि पनि उनको यार्सा टिपेरै पढाई खर्च जुटाउने योजना थियो । ८ कक्षामा पढ्दा देखि नै गाँउका मानिस सँग यार्सा टिप्न डोल्पाका विभिन्न पाटनमा जाने गरेकी हुँ । यसपालि डकडाउनले गर्दा यार्सा टिप्न प्रतिवन्ध लाग्यो । हामी समस्यामा पर्ने भयौ । अव कसरी पढाई खर्च टार्ने हो उनले चिन्ता प्रकट गदै भनिन ‘हरेक बर्ष ५० हजार माथि नै कमाई गरेर ल्याउँथे । त्यसले मेरो पढाई खर्च टथ्र्यो । अव कसरी पढाई खर्च जुटाउँ ?’
विरेन्द्र ऐश्वर्य मावि लिम्सामा ११ कक्षामा अध्ययनरत राजु नेपालीको पिडा पनि पुष्पाको भन्दा कम छैन । उनी पनि हरेक बर्ष यार्सा टिप्न गएर कमाएको पैसाले घरखर्च टार्नुका साथै पढाई खर्च जुटाउँथे । यस बर्ष पनि यार्सा टिपेर धेरै पैसा कमाउने उनको सपना अधुरै रह्यो । ‘म यार्सा टिप्न जान थालेको लगातार ५ बर्ष भयो । गत बर्ष मैले ६० हजार रुपैया कमाई गरेर ल्याए । बुवाले ६५ हजार ल्याउनु भएको थियो । त्यही पैसाले घर खर्च टारयौ । मेरो र भाईवहिनीको पढाई खर्च गरयौ तर यस बर्ष के गर्ने । केही सोच्न सकेका छैनौ । गाँउपालिकाले दिएको खाद्यन्नले अहिले सम्म जेनतेन टारेका छौ । अव के गर्ने केही थाह छैन’ उनले चिन्ता प्रकट गदै अन्नपुर्ण सँग भने ।
यी केही प्रतिनिधी पात्र मात्र हुन १२÷१३ बर्षका केटाकेटी देखि ६०÷६५ बर्ष सम्मका मानिसहरु यार्सा टिप्न जाने गरेका थिए । तर विश्वभर फैलिएको कोरोना महामारीका कारण देश लकडाउनमा छ । लकडाउनकै कारण यस बर्ष यार्सागुम्बा संकलन कार्य नै स्थगित भयो । डोल्पाका जगदुल्ला, कागमारा, भुक्पा, कुनासा, रमाना, पेरीकोक्पा, सागर, फुलबारी, नाउरे, दानीगार, ताक्सी, सिसोल, नावरपानी धो, शे फोक्सन्डो लगाएत उच्च लेक तर्फ यार्सा टिप्नेको भीड नै लाग्ने गर्दथ्यो । डोल्पाका साथै केही मानिस जुम्ला र मुगु पनि जाने गर्दथे । बैशाखको अन्तिम साता देखि मध्य असार सम्म यार्सा संकलन गर्र्ने सिजन हो ।
जिल्लाको बारेकोट गाउँपालिकाको सक्ला, नायकवाडा, रोकायगाउँ, रामीडाडाँ तथा नलगाड नगरपालिकाको लहँ भगवती, रग्दा, खगेनकोट, डाँडागाउ, कुशेका ढिमे, पैक, अर्छानी, टालेगाँउ लगाएतका गाँउबाट करीब २० हजार बढी मानिसहरु यार्सा टिप्न हिमालतिर जाने गर्दथे । एकै घरका पाँच जना सम्म जाने गर्दथे । यार्साबाट प्रति ब्यक्ति तीन लाखसम्म कमाई हुने गर्दथ्यो । आम्दानीको अन्य स्रोत नहुदा यस जिल्लाका अधिकांश बासिन्दा कर्णालीका उच्च लेकमा जोखिमपुर्ण तवरले यार्सा टिप्न जाने गर्दथे । आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको यार्सा संकलन कार्य रोकिदा हजारौ स्थानियको रोजीरोटीमा समस्या भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । करीव २० हजार जनसंख्या रहेको आफ्नो गाँउपालिकाबाट मात्र ८ हजारको हाराहारीमा यार्सा खोज्न जाने गरेको उनको भनाइ छ । तर यस पटकको लकडाउनले उनीहरु निकै समस्यामा परेको बताए ।
प्रति गोटा पाँच सय देखि एक हजार रुपैया सम्म पर्ने यार्सा प्रतिकिलोको कम्तिमा १५ लाख रुपैयामा खरीद हुने गरेको थियो । ५० लाख रुपैया सम्मको कारोवार गर्ने गरेको बताउने बारेकाट ४ का यार्सा ब्यापारी कालीबहादुर बस्नेतले जाजरकोटमा यार्साबाटै करीव १० करोड रुपैया हरेक बर्ष भित्रने गरेको बताए । ‘धेरै मानिसको जीवन निर्वाहको माध्याम नै यार्सा थियो । लकडाउनले यस बर्ष ठुलो घाटा भयो’ उनले भने ‘जसका कारण दैनिक हातमुख जोर्न समेत समस्या पर्ने अवस्था आएको छ ।’
यार्सा खोज्न जाने मजदुर मात्र होइन । यार्सा टिप्नेको लागी खाद्यान्न लगायतका सामग्रीको ब्यापार गर्ने, यार्सा खरीद गर्ने ठेकेदार का साथै राजश्वमा समेत ठुलो नोक्सान भएको छ । यार्साका ब्यापारी तथा ठेकेदारले सरकारलाई निकासी कर छुटै बुझाउँथे भने यार्सा संकलन गर्न गएका मजदुर तथा सर्वसाधारणबाट प्रतिब्यक्ति एक हजार रुपैया सम्म तिर्नु पथ्र्यो । अरब भन्दा बढीको कारोवार हुने यार्सा ब्यापार लकडाउनले लक गरिदिएको यार्सा ब्यापारी प्रेम बोहराले बताए । नेपालको यार्सा चीन, भारत, तिब्बत र हङकङ्ग तर्फ निकासी हुने गरेको उनको भनाई छ । हेलिकोप्टर नै रिजर्भ गरेर खरीद गर्न जाने यार्साका ठुला ब्यापारीमा डोल्पाका पर्यटन राज्यमन्त्री समेत रहेका धनबहादुर बुढा, जुम्लाका रामप्रसाद थकाली, मुगुका नन्दुल लामा र ग्याल्जेन लामाको करोडौको कारोवार पनि यस बर्ष लकडाउनमा परेको छ ।