राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यस बर्षको अनुकुल मौसमले समयमै रोपाई भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत बर्ष यही अवधीमा ४० प्रतिशत मात्र रोपाई भएको थियो ।
जाजरकोटमा तीन हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ । खेती योग्य जमिन मध्य दुई हजार ६ सय ३४ हेक्टर अर्थात ७० प्रतिशत जमिनमा धान रोपाई सकिएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । जिल्लाका कुदु, फेरा, मटेला, कालेगाँउ, होलुजिउला, दल्ली, मनघाट लगायतका स्थानमा धान खेती गर्ने गरिन्छ । जिल्लामा करीव ८ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । कुल खेती योग्य २५ हजार तीन सय ८० हेक्टर मध्य तीन हजार सात सय ६३ मेट्रिक टन क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ । धेरैजसो किसानले रोपाई गरिसकेका छन् । बाँकी किसानले पनि यो महिनाको अन्त सम्म रोपाई गरेर सिध्याउने कृषि विकास कार्यालयको अनुमान छ ।
कार्यालय प्रमुख अधिकारीले भने खहरे खोला र मुल फुटेपछि रोपाई गर्न बाँकी जमिनमा मात्र रोपाई गर्न बाँकी छ । सिंचाई सुविधा भएका धेरैजसो ठाँउमा रोपाई भैसकेको छ । पहाडी भुभाग भएकोले समयमा धान रोप्दा उत्पादनमा बृद्धि हुने उनको भनाई छ ।
चाहिदैन रासायनिक मल
देशभर रासायनिक मलको अभाव छ । जताततै मलको हाहाकार भएको बेला जाजरकोटमा भने मल अभावले छुन सकेको छैन । यो समयमा धान र मकै खेती गर्ने गरिन्छ । तर धान तथा मकै दुवै बालीमा जाजरकोटका किसानले गोठेमल प्रयोग गर्ने गरेको पाइएको छ । जाजरकोटका किसानले धान खेतीमा रासायनिक मल प्रयोग नगर्ने भएकोले पनि समयमै रोपाई भएको हो ।
यहाँका किसानले गोठेमल प्रयोग गरेरै मकै र धान रोप्छन् । धेरै किसानले रासायनिक मलको प्रयोग विनै मकै र धान उत्पादन गर्छन भेरी नगरपालिका १ का किसान दलबहादुर खत्रीले भने ‘देशभर मलको हाहाकार छ । तर जाजरकोटमा मल नहुँदा पनि कुनै असर छैन । मल नै प्रयोग नगर्ने भएपछि किन चाहियो र ?’ ।
कृषि विकास कार्यालयमा पनि मलको खोजीमा किसान नआएको कृषि प्राविधिक टोपेन्द्र विश्वकर्माले बताए । हिउँदे बाली गहुँ र तरकारी खेतीमा केही किसानले रसायनिक मल प्रयोग गर्ने गरेपनि मकै र धानमा खासै प्रयोग नगर्ने उनले बताए ।
गोठे मल र खहरे खोलामा आएको पाँगो माटोले नै धानको राम्रो उत्पादन हुने भएकोले रासायनिक मल प्रयोग गर्नु नपर्ने उनको भनाई छ । जिल्लाको करीव १५ हजार हेक्टर जमिनमा मकै खेती र करीव चार हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ ।