April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

अझै थामिएनन् आँशु

राजेन्द्र कार्की । जाजरकोट

कतै जिउदै टुप्लुक्क आईपुग्छ कि भन्ने झिनो आशा बाँकी नै थियो तर मंगलवार छोरा गोविन्दको शव देख्ने वित्तिकै आमा भीमी शाही वेहोस भईन । भुईमै ढलिन । बुवा इन्द्रबहादुर शाहीले पनि आँशु थाम्न सकेनन् । विभत्स तरीकाले हत्या गरिएको शव देख्दा झन पिडा बल्झियो । मृतक गोविन्दको शरीरभरी निलडाम, एउटा हात भाँचिएको, मुखभरी रगत र आँखा फुटेको अवस्थामा थियो । लक्का जवान छोरा गुमाएको पिडामा शाही परिवार मात्र होइन । उनका साथीभाइ र छरछिमेक समेत शोकमा छन् ।

प्रेमका नाममा ज्यान गुमाएका नवराजकी आमा उर्मिला पनि घटनापछि निकै विछिप्त भएकी छिन् । उनका आशु रोकिएका छैनन् । घटना सुने देखि बग्न थालेका पिडाका आँशु अझै बगिरहेका छन् । कहिले टोलाउँछिन त कहिले भक्कानिन्छिन । एक मात्र छोरो जो बुढेसकालको साहारा बन्ला भन्ने सोचेकी थिए तर दलित भएकै कारण पापीहरुले मुनैमा निमोठिदिए उनले भक्कानिदै भनिन । छोरा गुमाएको पिडा त छँदैछ । न्याय नपाईने पो हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । युटुवर देखी विभिन्न सरकारी तथा गैरसरकारी निकायले घटना बारे दिनुहँ जसो सोधेर झन पिडा बल्झाईरहेका छन् उनलाई । ‘कतिलाई जवाफ दिउँ म त बोल्दा बोल्दा थाकि सके’ उनले भनिन । बुवा मुनलाल ढाडको विरामी छन् । छोरा वियोगले विरामी बुवा मुनलाल बेला बेला भकानिन्छन् । उनीहरुको भोक र निन्द्रा हराएको छ ।

तीन बर्ष अघि श्रीमान गुमाएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनार माथि अर्को बज्रपात परेको छ । घटनामा लक्ष्मीले प्राण भन्दा प्यारो छोरा लोकन्द्रलाई गुमाउन पुगेकी छन् । छोराको शोकमा भोक र निन्द्रा हराएको छ । उनका आँशु अझै थामिएका छैनन् । तीन बर्ष अघि बस दुघर्टनमा श्रीमान गुमाएकी उनको एक मात्र साहारा त्यही छोरा थियो । तर घटनामा लोकेन्द्र मारिएपछि उनी निकै पिडामा छिन् । उनले भनिन बरु कालले म अभागीलाई लिए हुन्थ्यो । लाउ लाउ खाउ खाउ गर्ने उमेरमा पापीहरुले मारिदिए उनीहरुको भलो कहिल्यै नहोस ।

घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको घरमा यति बेला पीडाका सुस्केरा र दुर्भाग्यका वेदनाहरुले सन्नाटा छाएको छ । समवेदना दिन आउनेहरुको ंसंख्या लामो छ । तर सबैको रोदन मिश्रित अनुहारले घर नै उजाड भएको त्यत्तिकै बुझ्न सकिन्छ । १८ बर्षिया टीकारामकी श्रीमती दुई वर्षीया छोरीलाई काखमा राखेर २० लाग्दै गरेका श्रीमानको काजकिरियामा छन् । पति वियोगको पिडामा उनी विक्षिप्त छन् । उनकी आमा गीता अझै छोराको शोकमा भक्कानिरहेकी छन् । एक्लो छोरा गुमाएको पिडामा रहेकी उनले अपराधीलाई कारवाही हुने आशा ब्यक्त गरिन ।
घटनामा परि मृत्यु भएका नवराज सहित ६ जनाकै परिवार, साथीभाई, छरछिमेक, विद्यालयका गुरु, आफन्त सवै शोकमा छन् । पिडामा छन् । घटनाको सत्यतथ्य छानवीन गरि दोषीलाई कारवाही गरे मात्र पिडितले न्याय पाउने उनीहरुको भनाई छ ।

केटी भगाउन भनेर जाजरकोटबाट गएका नवराज सहितका १९ जना युवा माथी सोतीका स्थानियले आक्रमण गरेका थिए । कथित तल्लो जातको भनिने दलितले ठकुरीकी छोरी लिन खोजेको भन्दै आक्रमण गरिएको हो । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराजले साथीहरु सहित जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेहरुले कुटपिट गरि ६ जनालाई हत्या गरेर भेरीमा फालेको पिडित परिवारले बताउँदै आएका छन् ।

पिडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुई जना अझै फरार छन् । प्रहरीले वडाध्यक्ष मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, शुष्मा मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर मल्ल, मानव मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगर लगायतका स्थानियलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरुलाई कर्तब्य ज्यान सम्बन्धी मुद्धा चलाउने तयारी गरेको छ ।सोतीका स्थानियले भागदौडको क्रममा नदीमा हाम फाल्दा नदीले बगाएको बताउँदै आएका छन् ।

नवराज सँगै गएर घटनामा घाईते भएका भेरी नगरपालिका ४ का सुदिप खड्काले नवराज लगायत ६ जनालाई नै गाँउलले मारेर भेरीमा बगाईदिएकोे बताएका छन् । नवराज सहित मृत्यु भएका ६ जनालाई नै गाँउलेले नियन्त्रणमा लिएर हत्या गरि भेरीमा फालिदिएको उनले बताए । उनले भने ‘नवराज लगायतका साथीहरुले नमार्नुहास अंकल नपिट्नुहोस आन्टी भनेर रोईकराई गरिरहेका थिए, हारगुहार गरिरहेका थिए तर ढुङ्गा जस्तो मन भएका गाँउलेले उनीहरुको अनुनय सुनेनन् । ठुलो हुल भएकोले हामी उनलाई बचाउन जान सकेनौ । मृतक ६ जनाको टोली अलि पछि थियो । हामी भागेर अलि अघि आएका थियौ । साथीहरु बचाउ बचाउ भन्दै थिए ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad