राजेन्द्र कार्की । जाजरकोट
तीन बर्ष अघि श्रीमान गुमाएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनार माथि अर्को बज्रपात परेको छ । गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा लक्ष्मीले प्राण भन्दा प्यारो छोरा गुमाउन पुगेकी छन् । छोराको शोकमा भोक र निन्द्रा हराएको छ । उनलाई भोक र निद्रा लागोस् पनि कसरी !
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ‘विभत्स घटना’मा उनले १९ वर्षीय छोरा लोकेन्द्रलाई गुमाइन । घटना भएको र छोरो हराएको खवरले उनको मन चसक्क घोचेको थियो तर पनि दुई दिन सम्म लक्ष्मीलाई लागेको थियो छोरा कतै टुप्लुक्क आइपुग्छ कि ! पौडी खेल्न माहिर छोरा न पौडिएर कतै लुकेर पो बसेको छ कि ! लक्ष्मीको मनमा झिनो आशाको दियो बलिरहेको थियो । तर, १४ जेठ दिउँसोको एउटा खबरसँगै त्यो आशाको त्यान्द्रो पनि चुँडियो । लोकेन्द्रको शव भेरी नगरपालिका–१२ स्थित नदी किनारमा भेटियो । त्यसपछि उनी बेहोस् भएर लडिन । होस खुले पनि उनी शोकमा इन्तु न चिन्तु छन् । दिनभर टोलाइरहन्छिन ।
दुर्घटनाले श्रीमान लियो, साथी सँग गएको छोरालाई जातीय घटनाले । आर्थिक अवस्था निकै कमजोर भएको लक्ष्मीको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँथ्यो । उनका श्रीमान लक्षे सुनार ‘मिस्त्री’ काम गर्थे ।
जसोतसो गुजरा चलिरहेको थियो तर, सँधै त्यसरी चल्दैन भन्ने निश्कर्ष पुगेपछि उनीहरूले जेठो छोरा रामबहादुरलाई विदेश पठाउने निर्णय गरे । साहु ऋण गरेर रामबहादुर मलेसिया पुगे । छोरो मलेसिया पुगेको केही महीनामा यता अमा लक्ष्मीको जीवनमा ठुलो बज्रपात आइलाग्यो । २०७३ फागुनमा सदरमुकाम खलंगाबाट नेपालगञ्जका लागि छुटेको बसमा चढेर घर फर्किँदै गरेका लक्षेले घर पुग्न पाएनन् । उनी चढेको बस बीच बाटोमै भीरबाट पासागाड खोलामा खस्यो । उनको घटनास्थलमै मृत्यु भयो । उक्त दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो । उनीसँगै रहेकी पाँच वर्षीया छोरी गम्भीर घाइते भइन् । उनी अहिले अपाङ्ग जीवन बाँचिरहेकी छन् । उनका अनुसार छोरीको उपचारका लागि चार लाख रूपैयाँ खर्च भइसक्यो तर, उनी पूर्ण रूपमा सञ्चो भइनन् । छोरीको उपचारका लागि उनी लामो समय काठमाडौंको महराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा बस्नु परेको थियो ।
‘शुरूमा किरिया खर्च भनेर ५० हजार दिएका थिए । गाडीवालाले छोरीको उपचार भनेर ७४ हजार दिएका थिए’, लक्ष्मी भन्छिन्, ‘छोरीको उपचारका लागि चार लाख खर्च भयो। साहु ऋण गरेँ । पैसा दिउँला भनेर सबै बिल गाडीवालाले लिएका थिए, अहिलेसम्म केही दिएका छैनन्।’ जेठो छोरा रामबहादुर विदेश जाँदा लिएको ऋण पनि तिर्न बाँकी छ। ‘केही कमाइकजाइ होला भनेर छोरालाई ऋण गरेर विदेश पठाएका थियौँ, ऊ उता गएपछि यता श्रीमानको घटना भयो, त्यही बेलाको ऋण पनि तिर्न सकेका छैनौँ,’ लक्ष्मी भन्छिन् ।
यही कान्छो छोरा लोकेन्द्र लक्ष्मीको जीउने आधार थियो । नवराज र लोकेन्द्र दुई बहिनाका छोराहरु हुन् । दाइ नवराजको आग्रहमा गएका थिए लोकन्द्र त्यस दिन । लक्ष्मीलाई पनि लाग्छ उनीहरूलाई कि मारेर फालिएको हो कि कुटेर पौडिनै नसक्ने गरी । १४ जेठमा भेटिएका लक्ष्मीका छोरा लोकेन्द्रको ‘शंकास्पद’ शवले पनि यही भन्छ । शव टाउकोमा ठाउँ–ठाउँ चोट लागेको र हात बाँधिएको अवस्थामा भेटिएको थियो । आफ्नो छोराले अपराध नै गरेको भए बरु जेल हालेको भए हुन्थ्यो तर, बिनाअपराध लखेटीलखेटी मारिएको उनी बताउँछिन् ।
‘भेरीको छालमा हुर्केको हो । पौडी खेलेर वारपार गथ्र्याे । जिँउदै भेरीमा फालेको भए त तरेर आउँथ्यो होला । मेरो छोरालाई उनीहरूले मारेरै फालेका हुन्’, लक्ष्मी भन्छिन, ‘हात बाँधेको अवस्थामा लास भेटियो । मुखमा, टाउकोमा चोट लागेको थियो । जस्तो बेला पनि भेरी तर्ने मेरो छोरालाई भागदौडमा मर्यो भनेर म कसरी पत्याउँ?। छोरा मरेपनि न्याय नमरोस । अपराधीले सजाय पाउन ।’
बाबुको दुर्घटनामा मृत्यु भएपछि लोकेन्द्रको पढाइले पनि निरन्तरता पाउन सकेन । विदेश गएका दाइ अलपत्र परेपछि घरव्यवहार धान्ने जिम्मा उनको काँधमा आइलाग्यो। आमा लक्ष्मीले फेरि ऋण गरिन् र, लोकेन्द्रलाई सुनचाँदीको काम सिक्न सुर्खेत पठाइन् । नौ कक्षासम्म पढेका लोकेन्द्र केही समय पहिले सुनचाँदीको काम सिक्न सुर्खेत पुगेका थिए । काम सिक्दै थिए । काम सिकेर आमालाई र बहिनीलाई सुुख सँग पाल्छु भन्थ्यो तर कहिल्यै नफर्किने गरी गयो आमा लक्ष्मीले भनिन ‘बरु म अभागीलाई कालले लिए हुन्थ्यो ।’ लकडाउनकै हुनु अगाबै लोकेन्द्र सुर्खेतबाट जाजरकोट घर फर्किए ।
तीन वर्षअघि मलेसिया पुगेका लक्ष्मीका जेठो छोरा रामबहादुर त्यहाँ अलपत्र छन् । लक्ष्मीका अनुसार उनी पहिले गएको कम्पनीमा पनि छैनन् । घरमा आमालाई फोन गरेर भन्छन् ‘भाडा पठाइदेऊ, घर फर्किन्छु।’ तर, ऋणले थिचिएकी लक्ष्मीसँग छोराको उद्धारका लागि पठाउने पैसा छैन । पत्याउने साहुहरूसँग यसअघि पटक पटक लिएको ऋण तिर्न सकेकी छैनन् । अब उनलाई ऋण पत्याउने पनि कोही छैनन् । के खाएर बाँचौ । अपाङ्ग छोरीलाई कसरी पालु उनले चिन्ता प्रकट गरिन ।